शनिबार, १५ नोभेम्बर, २०२५
14:13 | १९:५८

एनपिएलको तयारी पूरा, ४० करोड आम्दानी गर्ने क्यानको लक्ष्य

नेपाली लिङ्क नोभेम्बर १५, २०२५

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको तयारी पूरा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज पत्रकार सम्मेलन गरेर एनपिएलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।

त्रिवि मैदानमा सोमबारदेखि सुरु हुने एनपिएलको प्राविधिक लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले बताएका हुन्।

पत्रकार सम्मेलनमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले एनपिएलको पहिलो संस्करणको उत्साहबाट दोस्रो संस्करणलाई थप भब्य बनाउने योजना रहेको बताए। उनले भने, ‘एनपिएललाई नेपाली खेलकुदको उद्योगको रुपमा विकास गर्न चाहन्छौँ। नेपाली क्रिकेटलाई विश्व खेलकुदसँग गास्ने काम यसले गरेको छ। यसको सफलताका लागि क्यानलाई सबैको साथ आवश्यक छ।’

क्यानले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ। दर्शक शुल्क पाँच सयदेखि दुई हजारसम्म तय गरिएको छ।

उद्घाटन खेलको सम्पूर्ण टिकट बिक्री भइसकेको छ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच त्रिवि क्रिकेट रङ्गशालामा अपरान्ह ४:०० बजे भिड्नेछन्।

उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि पाँच सय र एक हजार रुपियाँ राखिएको छ।

यस्तै प्लेअफ देखिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मुल्य १५ हजार रुपियाँ तय गरेको छ।

४० करोड आम्दानी गर्ने लक्ष्य

क्यानले दोस्रो संस्करणको एनपिएलबाट ४० करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ। क्यानका कोषाध्यक्ष पदम खड्काले यस पटकको एनपिएलबाट क्यानले ४० करोड रुपियाँ आम्दानी गर्ने प्रक्षेपण गरेको बताए।

उनले भने, ‘यस सिजन क्यानले टिकट बिक्री, ब्रोडकाष्टिङ, प्रायोजन, टिमको दर्ता शुल्क लगायत शीर्षकबाट ४० करोड आम्दानी गर्नेछ। जुन १५ करोड ३० लाख प्रायोजकबाट, नौ करोड सहभागीबाट, पाँच करोड ३० लाख ओटिटीबाट, १२ करोड टिकट बाट र एक करोड स्थानीय प्रसारण अधिकारबाट आम्दानी हुनेछ।’

मङ्सिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एनपिएलका लागि प्यारापिट बाहिरमात्र दुई वटा बार लगाइएको छ।

खेलमा मिलेमतो र बेटिङलाई समेत मध्यनजर गरेर नेपाल प्रहरीको निगरानीका एन्टीकरप्ट युनिट तय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित कूल ३२ खेल हुनेछन्।

एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने छन्। क्यानले पहिलो वर्ष नै १० वर्षका लागि फ्रेन्चाइज टोलीसँग सम्झौता गरिसकेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू