बुधबार, वैशाख १२, २०८१
06:57 | ११:४२

काभ्रे सोसाइटी यूकेले विपन्न परिवारका १५ बालबालिका पढाउने

नेपाली लिङ्क फ्रेब्रवरी १५, २०२१

 

लन्डन । काभ्रे सोसाइटी यूकेले नेपालस्थित विपन्न परिवारका १५ जना बालबालिका पढाउने भएको छ । आइतबार ‘भ्यालेन्टाइन डे’ कै दिन बसेको भर्चुअल बैठकमार्फत संस्थाले १५ बालबालिकाको पढाइको जिम्मा लिने निर्णय गरेको हो । 

सोसाइटीका महासचिव रुपक पौडेलका अनुसार संस्थाको १५ सदस्यीय कार्यसमितिका हरेक पदाधिकारीले एक-एक जना बच्चाको पढाइका लागि जिम्मा लिने प्रतिबद्धता गरेका छन् । 

आउँदो शैक्षिक सत्रदेखि शुरु गरिने अभियानमा संलग्न हुन ईच्छुक अरुलाई पनि उत्साहित गर्दै थप बालबालिकाको पढाइका लागि पहल गर्दै जाने समाजको योजना छ । 

विपन्न परिवारका बालबालिकाको पढाइका लागि स्पोन्सर गर्ने अभियानलाई दिगो बनाउने लक्ष्यसहित आवश्यक निर्देशिका समेत तयार गरिने भएको छ ।  

बैठकले बेलायतस्थित काभ्रेलीहरुका बालबालिकाको लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु पनि आयोजना गर्ने निर्णय गरेको छ   

सोसाइटीका वरिष्ठ उपाध्यक्ष नारायण फुँयालले संस्था स्थापनाको छोटो अवधिमा पनि धेरै कामहरु गर्ने कोशिश गरिएको बताए । सोसाइटीले आफ्नो सामाजिक कर्मलाई उत्साहपूर्ण ढंगले अघि बढाउंदै जाने उनले जानकारी दिए ।   

सोसाइटीका अध्यक्ष रविन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकमा बलराम मैनाली, रामचन्द्र अधिकारी, दावा लामा, मिलन शर्मा वाग्ले, अर्जुन सपकोटा, यादवप्रसाद पराजुली, जीवन थापा, सुवास विष्ट ,सनता तमाङ, रीता श्रेष्ठ, दुर्गा पाठक, चन्द्र मैनाली, पुरुषोत्तम आचार्य लगायतको सहभागिता थियो ।  

गत नोभेम्वर ९ तारिखका दिन स्थापना भएको सोसाइटीले शुरुका दिनदेखि  नै आफ्नो सक्रियता बढाएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू