बिहीबार, वैशाख १३, २०८१
00:55 | ०५:४०

लन्डन दूतावासकी उपनियोग प्रमुख खनाललाई कार्यवाहक राजदूतको जिम्मेवारी

नेपाली लिङ्क फ्रेब्रवरी १२, २०२१

कावा राजदूतको भूमिकामा उपनियोग प्रमुख रोशन खनाल

लन्डन । लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल यतिबेला कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दैछिन् । यसअघिका राजदूत डा दुर्गाबहादुर सुवेदी गतसाता नेपाल फर्किएसंगै खनालले कावा राजदूतको भूमिका पाएकी हुन् ।

डा सुवेदीले आफू नेपाल उड्नुपूर्व कार्यवाहक राजदूतको जिम्मेवारी उपनियोग प्रमुख खनाललाई सुम्पिएको दूतावास स्रोतले जनाएको छ । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मी नआउँदासम्म खनालले कार्यवाहक राजदूतको भूमिका निर्वाह गर्नेछिन् । राजदूत रेग्मी फाल्गुणको दोस्रो सातासम्म बेलायत आइपुग्ने योजना रहेको बताइएको छ ।

‘पुरानो राजदूत फर्किएर नयाँ राजदूत नआइपुग्दासम्मको अवधिमा सम्बन्धित दूतावासको उपनियोग प्रमुखले कार्यवाहक रुपमा राजदूतको जिम्मेवारी सम्हाल्नु स्वभाविक हो । सोहि प्रचलनअनुसार निवर्तमान महामहिमले उपनियोग प्रमुखलाई जिम्मेवारी सुम्पिएर फर्किनुभएको हो’, दूतावास स्रोतले भन्यो ।

कार्यवाहक राजदूतका रुपमा उपनियोग प्रमुख खनालले दूतावासको कार्यसञ्चालनको नेतृत्व गर्नेछिन् । बेलायतस्थित राजदूतको कार्यक्षेत्रमा पर्ने आयरल्याण्ड र माल्टाको लागि पनि उनी कार्यवाहक राजदूत रहनेछिन् ।

‘प्राविधिक हिसाबले कार्यवाहक राजदूतले पनि ‘फुल राजदूत’ ले गर्ने सबै कामहरु गर्न सक्छ । राजदूतको अनुपस्थितिमा आइपर्ने सबै कार्यमा दूतावास प्रमुखको भूमिका निभाउनुपर्छ’, आफ्नो भूमिकाबारे कावा राजदूत खनालले नेपाली लिंकसंग भनिन्, ‘मर्यादाक्रममा राजदूत र कार्यवाहकबीच फरक रहन्छ नै । तर कार्यसञ्चालनको क्रममा निभाउने भूमिका समान हुन्छ ।’

४ वर्षे कार्यकालसहित बेलायत आएकी खनाल गत अगस्ट ३१ तारिखदेखि लन्डन दूतावासको उपनियोग प्रमुखको जिम्मेवारीमा छन् । सन् २०१० मा शाखा अधिकृतका रुपमा परराष्ट्र सेवा प्रवेश गरेकी उनी तीन वर्षअघि उपसचिवमा बढुवा भएकी थिइन् । यसअघि उनले इजरायलस्थित दूतावासमा समेत ४ वर्ष काम गरिसकेकी छन् । खनालले त्रिुभवन विश्वविद्यालयबाट ‘मास्टर्स इन बिजनेस स्टडिज्’ (एमबिएस) पूरा गरेकी छन् ।

यसअघि केही वर्षअघि मात्रै बेलायतका लागि तत्कालीन नेपाली राजदूत डा सुरेशचन्द्र चालिसे कार्यकाल सकेर नेपाल फर्किएपछि उपनियोग प्रमुख तेजबहादुर क्षेत्रीले दुई वर्षभन्दा लामो अवधि कार्यवाहक राजदूतको भूमिका निभाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू