शनिबार, वैशाख ८, २०८१
13:21 | १८:०६

बेलायतमा हुने ‘हन्ड्रेड क्रिकेट’ मा ओभल टीमबाट खेल्दै सन्दीप

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२१

लन्डन । बेलायतमा यस वर्ष आयोजना हुने ‘हन्ड्रेड क्रिकेट’ प्रतियोगिता नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पनि खेल्ने भएका छन् ।

एक सय बलमा खेलाइने हालसम्मकै सबैभन्दा छोटो फर्म्याटको यो प्रतियोगिता आउँदो समर सिजनमा पहिलोपटक गर्न लागिएको हो ।

‘इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड’ को आयोजना रहने प्रतियोगिता सन् २०२० मै शुरु गर्ने तय भएपनि गत वर्ष कोभिड महामारीका कारण सम्भव भएको थिएन । यस वर्ष समर सिजनमा खेल आयोजना गर्ने भनिएपनि यकिन मिति अझै तय गरिसकिएको छैन ।

बेलायतका विभिन्न क्षेत्र तथा शहरको प्रतिनिधित्व गर्ने ८ टीमको सहभागिता रहने प्रतियोगितामा सन्दीप केन्ट र सर्रेको प्रतिनिधित्व गर्ने ‘ओभल इन्भिसिबल’ टीमबाट खेल्नेछन् ।

ओभलले सन्दीपलाई गत वर्षकै लागि एक लाख पाउण्डमा अनुवन्ध गरेकोमा यसपटकलाई पनि उनलाई रिटेन गर्ने पक्का गरेको छ । ओभलले सन्दीपसंगै जम्मा ११ खेलाडीलाई रिटेन गरेको हो ।

‘हन्ड्रेड क्रिकेट’ मा ओभल इन्भिसिबलबाहेक लन्डन स्पिरिट, म्यान्चेस्टर ओरिजिनल्स, नर्दन सुपरचार्जरस (लिड्स), बर्मिंगहम फोनेएक्सि, ट्रेन्ट रकेट (नटिंगहम), साउदर्न ब्रेभ (ह्याम्पशायर) र वेल्स फायर सहितका टीमले प्रतिस्पर्धा गर्नेछन् ।

अहिलेसम्म आठ टीमका कुल ५७ खेलाडी मात्रै कुन-कुन टीममा रहने भन्ने टुंगो लागेको छ । प्रतियोगितामा सहभागी हुने सबै टीमका खेलाडीहरुको पूर्ण सूची यही फेब्रुअरी २३ तारिखमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू