शनिबार, चैत १७, २०८०
00:45 | ०६:३०

बेलायत आउनुपूर्व नै नवनियुक्त राजदूत रेग्मीलाई गोर्खाहरुको खबरदारी

१३ बुंदेकै जगमा समाधान खोजिनुपर्ने अडान

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२१

लन्डन । बेलायतका लागि हालै नियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीलाई बेलायत आउनुपूर्व नै भूतपूर्व गोर्खाको मुद्धामा खबरदारी गरिएको छ ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) र गोर्खा सत्याग्रह संघर्ष समितिका प्रतिनिधिहरुले मंगलबार काठमाडौंमा संयुक्त रुपमा भेटेर नवनियुक्त राजदूतलाई गोर्खाहरुको भावना र चाहनाको सम्मानसहित मुद्धा सुल्झाउने गरी पहल गर्न माग गरे ।

राजदूतसंगको भेटमा सहभागी गेसो केन्द्रीय सभापति कृष्णकुमार राईका अनुसार यसअघि त्रिपक्षीय प्राविधिक संयन्त्रले बुझाएको १३ बुंदे सिफारिशकै जगमा समस्याको समाधान खोजिनुपर्ने अडान गोर्खाहरुले राखेका थिए ।

‘बेलायत र नेपाल सरकारसंगै हामी गोर्खाहरुको समेत सहभागितामा तयार भएको उक्त सिफारिशमा दुवै देशका सरकारले सहमतिसहित हस्ताक्षर गरेका छन् । सोहि सहमतिलाई यथासक्य चाँडो कार्यान्वयन गराउने वातावरण निर्माणका लागि हामीले आग्रह गरयौं’, सभापति राईले नेपाली लिंकसंग भने, ‘हामीले महामहिमज्यूलाई भनेका छौं, १३ बुंदेबाट थोरै पनि तल माथि भयो भने हामीलाई मान्य हुनेछैन ।’

प्राविधिक संयन्त्रको सिफारिशलाई कार्यान्वयन गर्न बेलायत सरकारले आनाकानी गरिरहेको भन्दै गोर्खाहरुले नेपाल सरकारका तर्फबाट दबाब सिर्जना गराउन राजदूत रेग्मीसंग आग्रह गरेका थिए ।

‘दुई देशबीच उच्चस्तरीय वार्ता गरी यथासक्य चाँडो हाम्रो मुद्धा किनारा लगाउनुपर्छ भन्ने हामी सबै गोर्खाहरुको स्पष्ट मत छ । यही भावनालाई बुझेर नेपाल सरकारको तर्फबाट बलियो अडान र कूटनीतिक पहल गरिदिन राजदूतलाई आग्रह गरिएको छ’, गेसो सभापति राईले भने ।

त्यसअवसरमा नवनियुक्त राजदूत रेग्मीले गोर्खाहरुको मुद्धा राष्ट्रिय महत्वका विषयले भएकाले आफूले विशेष महत्व र प्राथमिकता दिने प्रतिवद्धता गरेका थिए । गोर्खाहरुको समस्या सुल्झाउनका लागि आफूलाई नेपाल सरकारबाट स्पष्ट मार्गनिर्देशन भएको जनाउँदै उनले कूटनीतिक पहलबाटै यो समस्याको टुंगोमा पुग्न सकिने विश्वास व्यक्त गरेका थिए ।

बेलायत सरकारलाई विश्वासमा लिएर मात्रै समस्या समाधान हुन सक्ने भन्दै उनले गोर्खाहरुलाई भने, ‘तपाईंहरु धैर्य र संयम रहनुहोस् । कूटनीतिक माध्यमबाटै बेलायतलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ ।’

कूटनीतिक पहल भइरहेका बेला आन्दोलनतर्फ लाग्न नहुने आशयसहित उनले धैर्य गुमाएको खण्डमा आफैलाई नोक्सान हुनेतर्फ सचेत गराएका थिए ।

नवनियुक्त राजदूत रेग्मीलाई भेट्न गेसो सभापति कृष्णकुमार राई र सत्याग्रहका नेपाल संयोजक एलबी घिसिङको नेतृत्वमा दुवै संगठनका पाँच पाँच जना प्रतिनिधि परराष्ट्र मन्त्रालय गएका थिए । त्यसअवसरमा गेसोका तर्फबाट सभापति राईले १३ बुंदे सिफारिश कार्यान्वयनका लागि यथासक्य पहल गर्न मागसहितको ज्ञापनपत्र राजदूत रेग्मीलाई बुझाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू