शनिबार, वैशाख ८, २०८१
04:14 | ०८:५९

बेलायतबाट नेपाल उडान प्रतिवन्ध हटेपनि यात्रुमा देखिएन उत्साह

सशर्त उडान गर्नुपर्ने झन्झटले हिच्किचाहट

नेपाली लिङ्क जनवरी ३१, २०२१

लन्डन । नेपाल सरकारले झण्डै महिना दिनपछि बेलायतबाट नेपाल जाने उडानमा लगाएको प्रतिवन्ध हटाएपनि यात्रुमा भने उत्साह देखिएको छैन् । सशर्त उडान गर्नुपर्ने झन्झटले अत्यावश्यक काम बाहेक यात्रु नेपाल जान हिच्किचाइरहेको ट्राभल एजेन्टहरु बताउंछन् ।

नेपाल सरकारले गत बिहीबार तत्कालै लागू हुने गरी बेलायतबाट नेपाल जाने हवाई उडान प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । तर, त्यसका लागि सम्पूर्ण यात्रुहरुले सरकारको शर्त पालना गर्नुपर्नेछ ।

लन्डन ग्रीनफोर्डस्थित केटिएम ट्राभल एण्ड टुर्सका सुनिल थापाले जिज्ञासाका लागि धेरै फोन कल पाएका छन् तर टिकट लिइहाल्ने जमात न्यून छ । प्रक्रिया झन्झट भएकाले यात्रुलाई ‘कन्भिन्स’ गर्नै गारहो भएको उनको अनुभव छ ।

‘नेपालमा होटल बुक र आफ्नो यात्रा विवरण नेपाली दूतावासमा पठाउनुपर्ने नियम अनि आफ्नै घर नजिक पुगेर होटलमा बस्न धेरैले असहज मानेको पाएं’, थापाले नेपाली लिंकसंग भने ।

थापाले टर्किस एयरलाइन्समा समस्या नभएपनि कतार एयरवेजले नेपाली यात्रु लान्छ कि लांदैन् भनेर औपचारिक रुपमा जिज्ञासा राखिएको बताए । ‘कतार एयरवेजले टिकट बुकिङ सिस्टम त खोलेको छ तर उसले यात्रु लान थालेको जानकारी नआएकाले हामीले मेकस्योर गरेका हौं’, उनले भने, ‘एयरपोर्टमा नेपाली अलपत्र नपरुन् भन्ने हाम्रो लक्ष्य हो ।’

यतिखेर ओमान एयरले नेपालको सेवा बन्द गरेको छ भने इत्तिहाद र इमिरेट्स बेलायतले लगाएको प्रतिवन्धका कारण अर्को सूचना नआएसम्मका लागि ‘सस्पेन्ड’ छन् । अहिले नेपाल जान कतार र टर्किस् एयरवेजमात्र उपलब्ध भएकाले टिकट महंगो हुन सक्ने सम्भावना औंल्याउंछन् एजेन्टहरु ।

देउराली ट्राभल्सका सञ्चालक आशिष पन्त सरकारी नियम कडा भएकाले जरुरी काम हुनेलाई मात्र नेपाल यात्रा गर्न सुझाउंछन् । कोही आफन्तजन वा परिवार बिरामी भए अथवा अर्जेन्ट काम भएर अनिवार्य जानै पर्नेबाहेक होलिडेमात्र हो भने नजान सल्लाह दिने गरिएको पन्तले बताए । यात्रुले स्ट्रङ डकुमेन्ट्स लानुपर्ने भएकाले एयरपोर्टमा दुःख पाउनुभन्दा जानु अगाडि नै पुनर्विचार गर्न पन्तको सुझाव छ ।

‘नेपालमा ५ दिन बस्न सिसीएमसीले मान्यता दिएको होटल बुकिङ र आफ्नो यात्रा विवरण उपलब्ध गराए हामी आफैंले दूतावास पठाएर सहयोग गर्ने गरेका छौं’, पन्तले भने, ‘होटल बुक गर्न ‘होटल बुकिङसडटकम’ सजिलो छ । सबै प्रक्रिया भएपछिमात्र लन्डनस्थित नेपाली दूतावासले सिफारिसपत्र दिन्छ ।’

पन्तले अहिले आफ्नो मात्र होइन्, समस्त ट्राभल व्यवसाय अति प्रभावित भएको जनाउंदै सुधार हुन अझै ५-६ महिना लाग्न सक्ने बताउंछन् ।

फ्लाइ केटिएमका गोविन्द बेल्वासे अत्यन्त जरूरी हुने बाहेक अहिले अरु कोही पनि यात्रा गर्ने मुडमा नरहेको बताउंछन् । ‘अझै केही समय लिजर ट्राभल गर्ने मुडमा कोही पनि छैन् । जरुरी यात्रा गर्न परेकाहरूले मात्र सोधिरहेका छन्’, बेल्वासेले सुनाए ।

नेपाल सरकारको ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टिनसम्बन्धी आदेश, २०७७’ मा यात्रा गर्नुअघि ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट, नेपालमा गएर होटेल क्वारेन्टिन बस्नका लागि होटेल बुक गरेको प्रमाण साथमा हुनुपर्ने, यात्रापूर्व आफ्नो यात्राबारेको विवरण लन्डनस्थित नेपाली दूतावासलाई पठाउनुपर्नेछ ।

त्यस्तै, नेपाल सरकारको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वेबसाइटमा उपलब्ध अनलाइन फाराम अनिवार्य रुपमा भरी सोको बारकोड प्रिन्ट गरी साथै लिएर जानुपर्नेछ । ब्रिटिश पासपोर्ट हुनेले दूतावासबाटै भिजा लिनुपर्छ ।

बेलायतमा कोरोना भाइरसको नयां भेरियन्ट तीव्र फैलिन थालेपछि नेपालले डिसेम्बर तेस्रो सातादेखि संयुक्त अधिराज्य लगायतका मुलुकबाट नेपाल प्रवेश गर्न प्रतिवन्ध लगाएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू