बिहीबार, चैत १५, २०८०
09:17 | १५:०२

यात्रा सूचनाको थप यातना हटाउ

गोविन्द बेल्वासे जनवरी ३०, २०२१

गोविन्द बेल्वासे

गत वर्ष फेब्रुअरी महिनामा सापकोटाजीले ‘सिङ्गापुर घुम्न जान्छु, टिकट मिलाइदिनुस्’ भन्नु भएको थियो । उतातिर नयाँ भाइरस फैलिएको छ, अहिले त्यता नजानुस् भन्ने उत्तर दिएको एक वर्ष भयो । दुई हप्ता अघि फेरि फोन गर्नु भएको थियो । त्यो सल्लाहले उहाँलाई ठूलै गुन लागेको बताउनु भयो । उसबेला चीनमा नयाँ भाइरस भेटिएको भन्दै वुहान सहर चर्चामा थियो । तर कोङिड–१९ भनेर न्वारन गरिएको पनि थिएन ।

मार्च महिनाको २३ गतेसम्म टिकट काट्दै हवाइ यात्रा गर्नेहरू खासै हच्किएका थिएनन् । कतिपयले त पहिलानै टिकट काटेका थिए, डराइ डराइ यात्रा गरिरहेका थिए । थोरै यात्रुलेमात्र आफ्नै इच्छाले टिकट क्यान्सिल गरेका थिए । तर, वुहानको भाइरसले नाम पनि पायो जताततै फैलन पनि थाल्यो । इटलीमा कोरोना भाइरसबाट मर्ने मानिसको संख्या सुन्दै तर्संदै गर्ने अवस्था भएपछि मार्च २३ गतेबाट नेपालको सिमानामा कोही पनि छिर्न नपाउने भए । सबैका फ्लाइट क्यान्सिल भए । सुरूका दिनमा लकडाउन गर्न आनाकानी गरिरहेको बेलायती सरकार भने प्रम बोरिस जोन्सोनलाई त्यही भाइरसले अस्पतालको बिस्तारामा पछारेपछि भाका फेरेको पाइयो । अहिलेको नयाँ भेरिएन्टका विषयमा पनि त्यो फेरिएको भाषाको अनुभूति हुन्छ ।

उता नेपालमा सरकारले हुनेखानेका सन्तान उद्धार गर्न वुहानमा प्लेन पठाएर नेपाल उतार्यो तर गरिबका छोराछोरी महाकाली नदीमा हामफाल्न बाध्य भए । वर्गीय विभेदको मारमा सर्वसाधारण परे । रहरले यात्रा गर्न त त्यत्तिखेरदेखि अहिलेसम्म पनि कसैले चाहँदैन । तर, बाध्यताको यात्रा गर्न पनि नेपाल सरकारको अनुदार नीतिको मारमा परिरहेका छन् । पहुँचवालाहरू र हुनेखानेलाई कोरोनाको समयमा पनि यात्रा गर्ने परिपाटीका रूपमा भारतका गूप्तचर प्रमुखको नेपाल यात्रा र प्रधानमन्त्रीसंगको भेटको सूचना चुहिएको अवस्थाले पनि प्रष्ट पार्छ ।

यही बिहीवारका दिन लण्डनको नेपाली दूतावासले सूचना जारी गर्दै बेलायतबाट यात्रुहरू नेपाल जान पाउने जानकारी गराएको छ । बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट भेटिएपछि २४ डिसेम्बरदेखि बेलायतबाट नेपाल यात्रा नियन्त्रित भएको थियो । कोभिडको नयाँ भेरिएन्टहरू थपिँदै गएको विश्व परिस्थितिमा रहरले यात्रा गर्ने अवस्था नै छैन । वाध्यकारी यात्रा मात्र गर्ने हो । उक्त सूचना जारी गर्नु भन्दा अघिल्लो हप्तासम्म नेपाल जान जरूरी भएको अवस्था दर्साउन सक्दा घरमा जान जति सजिलो थियो, अहिले घर जान झन् अप्ठेरो भएको छ । नेपाल पुगेर घर जान नपाइ होटेलमा बस्नु पर्ने वाध्यकारी स्थिति सिर्जना गरेको नीतिले कोरोनाबीच बाध्य भएर यात्रा गर्न ‘घाउमा नुनचुक लगाए जस्तो’ भएको छ ।

गत वर्षको फेब्रुअरी महिनामा चर्चा भए जस्तो भाइरसबारे केही थाहा नभएको अवस्था अहिले छैन् । बैज्ञानिक तथा चिकित्सकहरूले सर्वसाधारणले बुझ्ने गरी यो भाइरसको विषयमा धेरै जानकारी गराइसकेका छन् । भ्याक्सिन धमाधम लगाउने क्रम सुरू भएको छ । ‘भ्याक्सिन पासपोर्ट’ को विषयमा निश्चित नीति बनिनसके पनि निकट भविष्यमा त्यसको प्रचलन भोग्न पाइने जनचासो थपिएको छ ।

जानकार यात्रुहरू अहिले सचेत छन् । अति अनिवार्य बाहेक यात्रा गर्न कोही इच्छुक हुँदैन् । नयाँ भेरिएन्टलाई पनि प्रचलनमा आइसकेका भ्याक्सिनले काम गर्ने कामना गरिरहेकै छन् । यस अवस्थामा सचेत यात्रुको सहारामा समाजलाई भाइरस फैलनबाट बचाउनु विवेकपूर्ण उपाय हुन्छ । त्यसैले बाध्यकारी परिस्थितिमा यात्रा गर्नु परेकालाइ झन् दुःख दिने नीति यथासम्भव चांडै सुधार गरिदिन नेपाली राजदूतावाससंग आग्रह गर्न चाहन्छु ।

बेलायत फर्किएर आउने यात्रीहरू पनि कतिपय देशबाट आइपुग्नेलाई होटेलमा आइशोलेसनमा बस्नुपर्ने भएको छ । नेपालबाट यहाँ आइपुग्नेलाई होटेलमा बस्न पर्ने बाध्यता नभएर घरमा पुगेर एक्लिएर बस्न पाउने ब्यवस्था छ । तर नयाँ भेरिएन्ट फैलँदै गरेको अहिलेको अवस्थामा नेपाल जाँदै गरेका यात्रुहरू फर्कने समयमा नीति परिवर्तन भएर होटलमा बस्नु पर्ने नीति लागू हुन सक्दैन भनेर किटान गर्न सकिने अवस्था भने छैन् ।

विदेशी यात्रु नेपाल पुगेर टुरिजम विकास होला भन्ने आशामा नेपाली तथा गैर आवासीय नेपालीलाई सास्ती दिनु राम्रो होइन । कोरोनाको हुलचालको अहिलेको अवस्थामा नेपालमा नयाँ भेरिएन्ट पुग्नबाट रोक्नेतर्फ ध्यान पुरयाउनु पर्छ । बेसार पानी र गहुँतको उपचारले मात्र हुँदैन, भ्याक्सिन नभइ हुँदैन भनेर बैज्ञानिकहरूले भनिसकेका छन् । त्यसैले अति जरूरी यात्रा गर्ने बाहेक अरू रहरको यात्रा गर्ने पाहुनाको स्वागतको रहर नपाल्नु अहिलेको अवस्थाको माग हो ।

(बेलायत पिटरबरो निवासी बेल्वासे फ्लाइ केटिएम नामक ट्राभल एजेन्सीका सञ्चालक हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू