बिहीबार, वैशाख १३, २०८१
13:35 | १८:२०

बेलायतमा विद्यालय खोले संक्रमण झन् बढ्ने चिन्ता

रासस-एएफपी जनवरी २५, २०२१


लन्डन, १२ माघ– बेलायत सरकारले इङ्ल्याण्डमा पुनः विद्यालय खोल्ने रणनीति विस्तारका लागि सोमबार बढ्दो दबाबको सामना गर्नु परेको छ । सांसदहरूले विद्यालहरू महिनौंसम्म बन्द रहनसक्ने रिपोर्टबारे बहस चलाएपछि सरकारलाई विद्यालय खोल्नका लागि दबाब परेको हो ।

प्रधानमन्त्री बोरिस जोनसनको सत्तारूढ कन्जर्भेटिब्स पार्टीका एक दर्जन सांसदहरूले महामारीका कारण ‘बिर्सिएका पीडित’ का रूपमा विद्यार्थीहरू पर्ने खतरा देखिएको भन्दै विद्यालयहरूलाई शीघ्र पूर्ण रूपमा खोल्नका लागि माग गरेका छन् ।

समूहमा पूर्व मन्त्री एस्टर म्याकवे र कन्जर्भेटिभ सांसदहरूको प्रभावशाली समितिका प्रमुख ग्राहम ब्रैडीले यस मुद्दामा अभिभावकको दबाब समूह अभियानको समर्थन गरेका छन् ।

‘हामीले आफ्ना बच्चाहरूको निरन्तर कक्षा सञ्चालनमा जोड दिन जरुरी छ’, बेलायतको संसदको शैक्षिक निगरानी समितिका अध्यक्ष तथा सांसद रोब हाफनले ट्वीट्रमार्फत सम्प्रेषण गरेको सन्देशमा छ ।

उनले भने, ‘सरकारी संयन्त्रले हाम्रा विद्यालयहरू खोल्ने दिशामा निर्देशित हुनुपर्दछ अन्यथा हामीहरू शैक्षिक गरिबी र मानसिक स्वास्थ्यको महामारीको सामना गर्नुपर्नेछ ।’

यद्यपि हाफनको सोमबारको यो अडानले संसदमा यथोचित ध्यानाकर्षण गर्न नसकेको देखिएको छ । बेलायती संसद ‘हाउस अफ कमन्स’का सभामुख लिन्जी होयलले यसलाई विषयान्तर गर्दै संसदीय छलफललाई अघि बढाएका थिए ।

उत्तरपश्चिम लन्डनमा एउटा खोप स्थलको भ्रमणको क्रममा प्रधानमन्त्री जोनसनले बेलायती अधिकारीहरूले दैनिक प्रमुख तथ्याङ्कहरूको समीक्षा गरिरहेका बताएका थिए । उनले विद्यालयका विषयमा शिक्षक र अभिभावकहरूलाई सरकारले सकेसम्म चाँडो सूचना जारी गर्ने आश्वासन दिएका छन् ।

जोनसनले भने, ‘विद्यालयहरू स्पष्टतः प्राथमिकतामा हुनेछन् तर मलाई लाग्दैन कि कसैले पनि प्रतिबन्ध यति छिट्टै हटाउन चाहन्छ । किनकि सङ्क्रमणको दर अझै धेरै छ र यसले सङ्क्रमण दरलाई थप फैलाउन सक्छ ।’

कोभिड–१९ संक्रमण बढेपछि बेलायतले तेस्रो पटक नियन्त्रणका उपायस्वरूप लकडाउनलाई निरन्तरता दिने निर्देशन दिएको छ । सेप्टेम्बरमा दक्षिण पूर्व इ भ्लनबिलम्ल्यान्डमा पहिलो पटक पहिचान गरिएको थप संक्रामक भाइरस प्रकारको उद्भवका लागि वृद्धिलाई जिम्मेवार ठहराइएको छ ।

बेलायतले लकडाउन वृद्धि गर्नुपर्नाको कारण दक्षिणपूर्वी क्षेत्रमा भेटिएको सङ्क्रमण फैलावटका दृष्टिले बढी खतरनाक मानिएको भाइरसलाई जिम्मेवार देखाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू