नवौं पीपल नेपालकप क्रिकेटको सेमीफाइनल समिकरण पूरा, समापन आइतबार

लन्डन- पोखरेली मञ्च यूकेको आयोजनामा बेलायतको रेडिङमा सञ्चालन भइरहेको नवौं पीपल नेपालकप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमीफाइनल समिकरण टुंगो लागेको छ।
एघार टीमले प्रतिस्पर्धा गरेको प्रतियोगिताअन्तर्गत गत आइतबार र बुधबार भएका समूह चरणका खेलहरुपछि सेमीफाइनलका चार टीम चुनिएका हुन् ।
आयोजकका अनुसार यही १२ जुलाइ आइतबार प्रतियोगिता समापनका दिन खेलिने सेमीफाइनलका लागि हिमालयन, नटिङहम गोर्खा, माया र खुकुरी क्लब छनोट भएका छन्।
बिहान १० बजे शुरु हुने सेमीफाइनल खेलमा पहिलो पिचमा हिमालय र नटिङहम गोर्खा तथा दोस्रो पिचमा माया र खुकुरी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेलका विजेताले उपाधिका लागि दिउंसो साढे २ बजे तय फाइनल खेल्नेछन् ।
रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट क्लबको मैदानमा जारी प्रतियोगिता सोही दिन समापन हुंदैछ । जुन कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र विशेष अतिथिका रुपमा सचिव तथा पूर्व क्रिकेटर पारस खड्का समेत सहभागी हुंदैछन् ।
प्रतियोगिताका विजेताले नगद २ हजार पाउण्ड पुरस्कार, रनिङ ट्रफी र मेडल तथा उपविजेताले नगद १ हजार पाउण्डसहितको पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, प्लेयर अफ द टुर्नामेन्टलाई ३ सय ५० पाउण्ड तथा बलर अफ द टुर्नामेन्ट र बयाट्सम्यान अफ द टुर्नामेन्ट दुवैलाई २ सय ५० पाउण्ड नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।
प्रतियोगिताको टाइटल स्पोन्सर पीपल ग्रुपका सूर्य गुरुङ, प्रथम पुरस्कार स्पोन्सर माया ग्रुपबाट राज पाण्डे, प्लेयर अफ द टुर्नामेन्ट स्पोन्सर एभरेष्ट तन्दुरीका दावा लामा, बेस्ट ब्याट्सम्यान पुरस्कार स्पोन्सर जेजे बिल्ड्सका जगन गुरुङ तथा बेस्ट बलर पुरस्कार स्पोन्सर वेबथ्री टेक्नोलोजीका महेन्द्र कुंवर छन् ।
प्रतियोगिताको संयोजन मञ्चका निवर्तमान अध्यक्ष करम गुरुङले गरिरहेका छन् । प्रतियोगितामा क्रिकेटतर्फ संयोजक प्रकाश गुरुङ र विनय पुन छन् ।
मञ्चका अध्यक्ष पवित्र गुरुङले बेलायतवासी खेलप्रेमी नेपालीहरुलाई प्रतियोगिता समापनका अवसरमा सहभागी भएर खेलाडी र आयोजकलाई हौसला प्रदान गर्न आग्रह गरेका छन् ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


