शुक्रबार, १० जुलाइ, २०२६
19:21 | ००:०६

काम र जीवनबीच सन्तुलनबारे वेबिनार गर्ने तयारी

नेपाली लिङ्क जुलाइ १०, २०२६


लन्डन – नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) यूकेले “काम तथा जीवनबीच सन्तुलन र अन्तरपुस्ता संवाद” विषयमा एउटा वेबिनार आयोजना गर्न लागेको छ।

जीवन विज्ञान यूकेसंगको सहकार्यमा १५ जुलाई (बुधबार) बेलुका ८:३० देखि ९:३० बजेसम्म संचालन गरिने उक्त वेबिनारमा जीवन विज्ञानका संस्थापक एवम् जीवन विकास विशेषज्ञ गुरु एल पी भानु शर्माको प्रस्तुति रहने छ। उक्त प्रस्तुतिपछि प्रश्नोत्तरको कार्यक्रम पनि छ।

“बेलायतमा कार्यरत नर्स लगायत अन्य पेशाकर्मीहरुले काम तथा परिवारबीच सन्तुलन मिलाउन धेरै चुनौती व्यहोरी रहनु परेको छ। त्यस्तै बेलायतमै जन्मिएर हुर्की रहेका युवा पुस्तासंग बाबुआमाको संवाद पनि पातलिंदै गएको छ। यस्तो गहन विषयमा आयोजना गर्न लागिएको वेबिनार हाम्रा सदस्यहरु लगायत सबैलाई उपयोगी हुने हामीले विश्वास लिएका छौं,” नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) यूकेकी अध्यक्ष रश्मिता दर्लामीले भनिन्।

उनले सबै पेशाकर्मीहरुलाई वेबिनारमा सहभागी हुन अपील पनि गरिन्।

त्यस्तै जीवन विज्ञान यूकेकी योग प्रशिक्षक सरिता शर्माले प्रवासका नेपाली समुदायको जीवन शैली, सामर्थ्य र चुनौतीबारे जानकार भानु गुरुसंगको अन्तरक्रिया संसारभरिका नेपालीहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गरिन्।

“निस्वार्थ सेवामार्फत मानव मात्रको चेतनास्तर उकास्न आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नु भएका श्रद्धेय गुरुदेवलाई सुन्ने र प्रश्न गर्ने यो अवसर नगुमाउन म सबै मित्रहरुलाई हार्दिक आग्रह गर्दछु,” उनले भनिन् ।

उक्त वेबिनारमा जोडिएर लाभान्वित हुन आयोजकहरुले सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू