शुक्रबार, वैशाख १४, २०८१
01:34 | ०६:१९

‘गोर्खाको नागरिकता निरन्तरता’मा प्रमुख दलका नेताको ऐक्यबद्धता

एनआरएनए आइसीसी ‘कोअपरेसन विथ गोर्खाज’ टास्कफोर्सको अन्तरक्रिया

नेपाली लिङ्क अक्टोबर १४, २०२०


लन्डन । बेलायती सेनाबाट सेवानिवृत्त भइ बेलायतमा बस्दै आएका पूर्व गोर्खाहरुको नेपाली नागरिकता निरन्तरताको पक्षमा नेपालका प्रमुख राजनीतिक दलका उच्च नेताहरुले ऐक्यबद्धता जाहेर गरेका छन् ।  

एनआरएनए आइसीसीको ‘कोअपरेसन विथ गोर्खाज’ टास्कफोर्सले शनिबार गरेको अन्तरक्रियामा सत्तारुढ नेकपासहित विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुले गोर्खाहरुको नेपाली नागरिकता कायम रहनुपर्छ भन्नेमा आफूहरु सहमत रहेको बताए ।  

सत्तारुढ नेकपाका जनजाति विभाग प्रमुख सुरेश आले मगरले गोर्खाको नागरिकतासम्बन्धी माग जायज रहेको धारणा राखे । गोर्खाहरुको नागरिकता निरन्तरताका लागि आफ्नो पार्टी र वर्तमान सरकारसमेत सकारात्मक रहेको उनको भनाइ थियो ।  

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले पनि गोर्खाहरुको नागरिकता खोसिनुहुन्न भन्नेमा आफ्नो ऐक्यबद्धता जनाए । नेपाली काँग्रेस यस विषयमा सहमत रहेको उल्लेख गर्दै उनले थप स्पष्टताका लागि यो एजेण्डा पार्टीमा लगेर छलफल चलाउने उनले आश्वासन दिए । 

जनता समाजवादी पार्टीका वरिष्ठ नेता एवम् पूर्वमन्त्री अशोक राईले आफ्नो पार्टीले गोर्खाको नागरिकता निरन्तरताको मुद्धालाई संसदको राज्यव्यवस्था समितिमा पुर्याएको स्मरण गरे । हाल विचाराधिन रहेको यस विषयका पक्षमा जनता समाजवादी निरन्तर लडिरहने नेता राईको प्रतिबद्धता थियो ।

त्यसअवसरमा एनआरएनए आइसीसीका अध्यक्ष कुमार पन्तले गोर्खाहरुलाई गैरआवासीय नेपाली समुदायको महत्वपूर्ण र अभिन्न अंग भन्दै उनीहरुको नागरिकताको विषय एनआरएनए अभियानकै एक प्रमुख एजेण्डा बनिसकेको बताए ।

एनआरएनएले नागरिकताको सुनिश्चितता भएसम्म दबाबमुलक अभियान जारी राख्ने भन्दै उनले हालसम्म हासिल भएका उपलब्धिहरुलाई स्वीकार्दै थप अधिकारका लागि लड्दै जानुपर्ने विचार व्यक्त गरे । 

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले बेलायतमा रहेका हजारौं गोर्खाहरुको विषयलाई आफ्नो कार्यसमितिले सधैं प्राथमिकतामा राखेको भन्दै उनीहरुको समस्या समाधानको प्रयासमा विभिन्न प्रयासहरु गरिंदै आएको सुनाइन् । 

कार्यक्रममा एनआरएनए केन्द्रका उपाध्यक्ष डा बद्री केसी, महासचिव डा हेमराज शर्मा, नेकपाका प्रवास विभाग इन्चार्ज युवराज चौलागाईं, जनता समाजवादी पार्टीका प्रवास ईञ्चार्ज आङकाजी शेर्पा लगायतका वक्ताले पनि गोर्खाहरुको नेपाली नागरिकता निरन्तरताको मुद्धाप्रति ऐक्यबद्धता जनाएका थिए । 

टास्कफोर्सका संयोजक रि लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङले अध्यक्षता गरेको कार्यक्रममा गेसो कार्यवाहक अध्यक्ष धर्म तामाङ, सत्याग्रहका निर्देशक ज्ञानराज राई, बिजीडब्लुएस अध्यक्ष मेजर टिकेन्द्र देवान, नेसा अध्यक्ष केशबहादुर गुरुङ, गोर्खा नागरिकता निरन्तरता संघर्ष समिति निर्देशक थर्क रानासहितका भूतपूर्व गोर्खा संगठनका नेताहरुको पनि सहभागिता थियो ।

कार्यक्रममा सहभागी राजनीतिक पार्टीका नेताहरुलाई गोर्खाहरुको नागरिकताको विषयलाई निश्कर्ष दिलाउन एक संसदीय समिति गठनको लागि पहल गरिदिन आग्रह गरिएको टास्कफोर्स संयोजक गुरुङले जानकारी दिए ।

एनआरएनए आइसीसी, एनआरएनए यूके र भूपू गोर्खाहरुको संयुक्त टोलील आउँदो फाल्गुण महिनामा नेपालका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका उच्च सरकारी अधिकारीहरुलाई भेटेर गोर्खाको नागरिकता र समान पेन्सन लगायतका हक, अधिकारसम्बन्धी मागका पक्षमा थप दबाब सिर्जना गर्ने योजना रहेको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू