शुक्रबार, वैशाख ७, २०८१
17:17 | २२:०२

बेलायतको हकिन्ज र गुल्मीको रेसुंगा नगरबीच भगिनी सम्बन्ध स्थापनाको सम्झौता

नगर परिषद प्रमुख फिलिप र बेलायतका लागि नेपाली राजदूतले गरे हस्ताक्षर

नेपाली लिङ्क अक्टोबर ३, २०२०

लण्डन । बेलायतको हकिन्ज नगर र गुल्मीको रेसुंगा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको सम्झौता भएको छ ।

शुक्रबार हकिन्जमा आयोजित एक समारोहमा उक्त नगर परिषदका प्रमुख फिलिप मार्टिन र बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

त्यसअवसरमा हकिन्ज नगर परिषद्का प्रमुख मार्टिनले दुई नगरबीच भगिनी सम्बन्ध स्थापना भएबाट सामाजिक, शैक्षिक, साँस्कृतिक क्षेत्रमा सहयोग तथा भ्रमणहरूको आदानप्रदानमार्फत् दुई देशबीच जनस्तरको सम्पर्क अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले रेसुंगा नगरपालिकाका नगर प्रमुखलाई सन् २०२१ मा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हकिन्जको भ्रमणका लागि निमन्त्रणा दिए ।

समारोहमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले २ सय वर्षभन्दा पुरानो मैत्रीपूर्ण नेपालबेलायत सम्बन्धलाई यस भगिनी सम्बन्धले थप सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गरे ।

रेसुंगा नगरपालिकाका नगर प्रमुखलाई हकिन्ज भ्रमणका लागि प्रदान गरिएको निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिंदै राजदूत डा. सुवेदीले रेसुंगा नगरपालिकाका नगर प्रमुखको तर्फबाट हकिन्ज नगर परिषद्का प्रमुख तथा उपप्रमुखलाई अर्को वर्ष रेसुंगाको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा पनि दिए ।

त्यसैगरी कार्यक्रममा हकिन्ज नगर परिषद्का पूर्व प्रमुख ग्लिन हिबर्टले बेलायतका लागि नेपाली गोर्खा सैनिकहरुको योगदानको कदर गर्दै आफू यस भगिनी सम्बन्ध स्थापनाबाट अत्यन्तै उत्साहित भएको बताए ।

समारोहमा हकिन्जको चर्चिल स्कुल तथा रेसुंगा नगरपालिकाको केन्द्र तम्घासस्थित सिद्धबाबा माध्यमिक बिद्यालयबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने समेत सहमति भएको थियो । समारोहको अन्त्यमा नगर परिषद प्रमुख मार्टिनले जलपान समारोहको आयोजना गरेका थिए ।

कार्यक्रममा हकिन्ज नगर परिषद्का काउन्सिलरहरुका साथै लण्डनस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनालको पनि उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू