बुधबार, वैशाख १२, २०८१
21:38 | ०२:२३

कोरोना भाइरस रोक्न इंग्ल्याण्डमा थप प्रतिवन्ध

नियम पालना नगरे थप कडाइ गर्ने बेलायती प्रधानमन्त्रीको चेतावनी

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२०


लन्डन । कोरोना भाइरस संक्रमण बढेपछि बेलायतले मंगलबार थप प्रतिवन्ध घोषणा गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार सांझ देशवासीका नाममा टेलिभिजन सम्बोधन गर्दै सर्वसाधारणलाई नयां नियम पालना गर्न अपिल गरेका छन् ।

दोश्रो लकडाउनको पक्षमा आफू नरहेको तर सरकारको नयां नियम पालना नगरे थप कडाइ गर्ने चेतावनी पनि उनले दिएका छन् । ‘यो तरिका अलि कडा छ भन्ने मलाई थाहा छ, तर सम्भाव्य खतरालाई हेर्दा यो उचित पनि छ’- उनले सम्बोधनमा भने । नयां नियम कार्यान्वयन गर्ने सिलसिलामा प्रहरीबाहेक आवश्यक परे सेना परिचालन गरिने पनि उनले बताएका छन् ।

नयां नियम अनुसार, आउंदो बिहीबारदेखि इंग्ल्याण्डमा पब, बार, रेष्टुरेन्ट तथा हस्पिटालिटी व्यवसाय राती १० बजेभित्र बन्द गरि सक्नुपर्नेछ भने उनीहरुले टेबल सर्भिस मात्र गर्न पाउने छन् । उनीहरुले ‘टेकवे’ गर्न सक्नेछन् ।

‘रुल अफ सिक्स’ अर्थात ६ जना भन्दा बढी जमघट गरेको भेटिए वा ‘फेस मास्क’ नलगाउनेलाई २०० पाउण्ड जरिवाना गरिनेछ । अब बार स्टाफ, वेटर, पसलका कामदार, सिटमा नबसेका ग्राहकहरुलाई ‘फेस मास्क’ अनिवार्य गरिएको छ ।

वैवाहिक समारोहमा १५ जनाभन्दा बढी जमघट प्रतिवन्ध लगाइएको छ । यसअघि यो संख्या ३० जना थियो । अन्त्येष्टीमा भने विगत जस्तै ३० जना सहभागी हुन पाउने बताइएको छ ।

बुधबारदेखि टयाक्सी ड्राइभर र यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ । आउंदो बिहीबार २८ सेप्टेम्बरदेखि वयस्कहरुको इन्डोर खेल मात्र खेल्न पाइनेछ तर ६ जनाको समूहभन्दा कम सहभागिता हुनुपर्नेछ । साथै १ अक्टोबरदेखि खेल स्थलहरुमा दर्शक जान दिइने पूर्व निर्धारित योजना स्थगित गरिएको छ ।

प्रधानमन्त्रीले सम्भव भएसम्म घरबाट काम गर्न पनि आग्रह गरेका छन् ।

यसैबीच, ब्रिटेनमा कोरोना भाइरसको खतराको स्तर बढाएर ३ बाट चारमा लगिएको छ । ब्रिटिश सरकारका वैज्ञानिक सल्लाहकारले यदि आवश्यक सावधानी नअपनाउने हो भने आउंदो अक्टोबर महिनाको मध्यसम्ममा बेलायतमा कोरोना भाइरसबाट हरेक दिन ५० हजार मानिसहरु संक्रमित हुनसक्ने चेतावनी दिए पछि खतराको स्तर बढाइएको हो ।

ब्रिटेनको चारवटै राज्यका मुख्य चिकित्सा अधिकारीहरुले एक वक्तव्यमा कोरोन भाइरस संक्रमितहरुको संख्या तीव्र गतिमा बढिरहेको जनाएका छन् । बेलायतमा मंगलबारमात्र ४ हजार ९२६ जना संक्रमित थपिएका छन् भने ३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू