शनिबार, वैशाख ८, २०८१
15:45 | २०:३०

नेपालमा संक्रमितको संख्या ५० हजार नाघ्यो, उपत्यकामा अहिलेसम्मकै उच्च

उपत्यकामा हालसम्मकै धेरै ५ सय ७२ संक्रमित

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२०

काठमाडौं । नेपालमा कोरोना भाइरसका थप १  हजार २ सय ४६ जना नयाँ संक्रमित थापिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उपत्यकामा हालसम्मकै सबैभन्दा धेरै ५ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४ सय ९५ जना, ललितपुरमा ४३ जना र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा  कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० जना र  होम आइसोलेशनमा ६ हजार ४ सय ३८ जना रहेका छन् ।

बितेको  २४ घण्टामा देशभर १ हजार ८ सय १८ जना कोरोना संक्रमित निको भएका छन्  । योसँगै निको हुनेको कुल संख्या ३५ हजार ७ सय पुगेको छ । नेपालमा निको हुने संक्रमितको दर ७१ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी २४ घन्टाभित्र नेपालमा १ महिला र ४ पुरुष गरि थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै चितवनमा ६२ वर्षीय पुरुष र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय १७ पुगेको छ ।

काठमाडौंमा तीन हप्तादेखि जारी निषेधाज्ञा आजैबाट खुकुलो पारिएको छ । तर, निषेधाज्ञा लागू भएयता कोरोना संक्रमितको संख्या भने निरन्तर बढ्दै गैरहेको छ । काठमाडौंमा निषेधाज्ञा  खुकुलो भएकै दिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित पुष्टि भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू