शुक्रबार, वैशाख ७, २०८१
12:52 | १७:३७

प्रथम भिसी विजेताको सालिक बनाउन इन्टेक १९९६ बाट २३०० पाउण्ड सहयोग

नेपाली लिङ्क सेप्टेम्बर ७, २०२०

लन्डन । प्रथम भिक्टोरिया क्रस (भिसी) विजेता कुलबीर थापाको सम्झनामा अल्डरसटको प्रिन्सेस गार्डेनमा बनाउन लागिएको सालिकका लागि भूतपूर्व गोर्खा सैनिकहरुको समूह ‘इन्टेक १९९६’ ले २ हजार ३ सय पाउन्ड प्रदान गरेको छ ।

आइतबार एक कार्यक्रमबीच मेजर जीत हमाल, क्याप्टेन दावानुरी शेर्पा, क्याप्टेन भीम शिरिष, डब्लुओटु भोलेन गुरुङ, कलर सार्जेन्ट प्रित गुरुङ लगायतले गोर्खा मेमोरियल प्रोजेक्टलाई चेक हस्तान्तरण गरेका थिए ।

बेलायतमा नेपाली समुदायको उपस्थिति र प्रभाव अझ बढी सुदृढ पार्न आफ्नो सहभागिता भएको जनाउँदै इन्टेक १९९६ नम्बरीहरुले खुशी व्यक्त गरेका छन् । उक्त ऐतिहासिक क्षणमा आफू पनि सहभागी हुने अवसर पाएकोमा इन्टेक १९९६ का संयोजक एवं गोर्खा मेमोरियल प्रोजेक्टका सदस्य प्रेम गाहामगरले खुशी व्यक्त गरे ।

गाहामगरका अनुसार, आउंदो नोभेम्बर ८ मा ‘कुलवीर थापा सहयोगार्थ सांझ’ गर्न च्यारिटी बक्स अर्डर भइसकेको थियो । ‘रिमेम्बरेन्स डे’ को आसपास पारेर गर्न लागिएको उक्त इभेन्ट ‘कोभिड १९’ का कारण स्थगित भएपछि नम्बरीहरुबीच आर्थिक संकलन गरि प्रदान गरिएको गाहामगरले जनाए । गाहामगरले आफ्नो व्यक्तिगत तर्फबाट ११ सय २१ पाउण्ड, २१ पेन्स बेग्लै प्रदान गरेका छन् । 

शालिक निर्माणका लागि करिब १ लाख २५ हजार पाउण्ड खर्च लाग्ने गोर्खा मेमोरियल प्रोजेक्टले बताएको छ । शालिक राख्ने ठाउँका लागि स्थानीय ग्रेटर रसमोर नेप्लिज कम्युनिटीले सन् २०१५ देखि रसमोर काउन्सिलसंग अनुरोध गर्दै आएकोमा गत वर्ष उपलब्ध गराइएको थियो । 

प्रथम भिक्टोरिया क्रस (भिसी) विजेता गोर्खा सैनिक कुलवीर थापामगरको शालिक सहयोगार्थ बेलायतका कयौं संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।  

नेपाल-बेलायत सम्बन्धको सेतुका रुपमा रहेका गोर्खाहरुको योगदानबारे बेलायतका नेपालीको आउँदो पुस्ताहरुलाई समेत जानकारी गराउन प्रतीकस्वरुप सो शालिक निर्माण गर्न लागिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू