शुक्रबार, चैत १६, २०८०
08:22 | १४:०७

नेपालमा थप ९० जनामा संक्रमण, संक्रमित पुगे ७ सय ७२

नेपाली लिङ्क मे २६, २०२०

काठमाडौं । नेपालमा मंगलबार थप ९० जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । एकै दिनमा यति ठूलो संख्यामा संक्रमित भेटिएको यो पहिलोपटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ठाउँस्थित प्रयोगशालाहरुमा गरिएका परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यससंगै अहिलेसम्म देशभरमा संक्रमितको कुल संख्या ७ सय ७२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नयाँ संक्रमितमध्ये ३५ जनामा काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा भएको परीक्षणमा संक्रमण भेटिएको हो । जसमा रौतहटका २२, सिराहाका पाँच, बाराका तीन, महोत्तारी र जुम्लाका दुई-दुई र धनुषाका एक छन् ।

त्यस्तै, कपिलवस्तुमा एक दुई वर्षीया बालिकासहित थप २४ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा ८ जना संक्रमित थपिएका छन् ।

सुर्खेतमा गरिएको परीक्षणमा १२ र रुपन्देहीको प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा संक्रमण भेटिएको छ ।

पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका दुई पुरुष तथा सेती अस्पतालमा गरिएको परीक्षणमा कैलाली र अछामका एकएक जनामा संक्रमण पाइएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट चार जनाले ज्यान गुमाएको पुष्टि भइसकेको छ । निको भएर र फर्किने १ सय ५५ पुगेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू