बिहीबार, वैशाख १३, २०८१
23:14 | ०३:५९

केवल सम्झनामा यस पटकको ‘गोर्खा कप’

नेपाली लिङ्क मे २४, २०२०

लन्डन । तमुधिं यूकेले आज गर्न लागेको बेलायतकै सबैभन्दा ठूलो नेपाली इभेन्ट १८ औं ‘गोर्खा कप’ केवल सम्झनामा मात्र सिमित रह्यो । मे २४ आइतबारका दिन तय गरिएको गोर्खा कप कोभिड १९ का कारण लागू लकडाउनले गर्दा रद्द गर्नुपरेको आयोजकले बताएका छन् । कोभिड १९ का कारण ‘तमुधिं यूकेले इतिहासकै सबैभन्दा दुःखद क्षण भोग्नुपरेको बताएको छ । आजीवन सदस्य तथा सल्लाहकारलाई समेत गुमाउनुपरेकोमा संस्थाले दुःख व्यक्त गरेको छ ।

दशौँ हजारले अवलोकन गर्ने ठानिएको यूकेको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा बेलायतका विभिन्न शहरबाट ओइरिन्थे नेपाली । पाका मानिसलाई पुराना दौंतरी भेट्न, गफिन र तन्नेरीलाई ‘डेट’ गर्न उपयुक्त मानिन्छ गोर्खा कप । स्थानीय रसमोर बरो काउन्सिलले उक्त इभेन्टलाई आफ्नो वार्षिक क्यालेन्डरमै राखेको छ । इभेन्टकै कारण स्थानीय व्यापार समेत प्रवर्धन हुने उक्त इभेन्ट बेलायतवासीमाँझ निकै लोकप्रिय मानिन्छ ।

बेलायती नेपाली डायस्पोराको सबैभन्दा वृहत इभेन्ट गोर्खा कपले नेपाली युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति, खाना, वेशभूषाको समेत प्रवर्धन गर्ने विश्वास तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङलाई छ । विगतमा खाना तथा हस्तकलाका स्टल, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण हुने गरेका थिए । गोर्खा कपलाई नेपाली समुदायबीच एकताको सन्देश दिने पर्वका रुपमा लिने गरिछ ।

यसपटक नेपालबाट समेत राष्ट्रिय टिम र भेट्रानको सहभागिता रहने योजना थियो । ‘इंग्ल्याण्ड सी टिम’ र नेपाली राष्ट्रिय टिमबीच हुने मैत्रीपूर्ण खेलमा सहभागी हुन आउंदा नेपाली टिमले गोर्खा कपमा खेल्ने तय गरेको थियो । गत वर्ष जस्तै हल्याण्ड, आइसल्याण्ड, बेल्जियम, आयरल्याण्ड, हङकङबाट समेत टिम आउने निश्चित थियो ।

नेपाल र नेपालीकै गौरव बोकेको गोर्खा कप रद्द भएकोमा बेलायतवासी निकै दुःखी बनेका छन् । गैर आवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङले अहिलेको विषम परिस्थितिले गर्दा नचाहँदा नचाहँदै पनि गोर्खा कप रद्द गर्नुपरेकोमा आफू चिन्तित भएको बताएकी छन् । उनले गत वर्षको फोटोहरु शेयर गरेर गोर्खा कपको १८ औं सस्करणलाई स्मरण गरेकी छन् ।

फोटो मिलन तमु /फेसबुक

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू