शुक्रबार, वैशाख ७, २०८१
11:50 | १६:३५

कोरोनाबाट विश्वभर १ सय १७ नेपालीको मृत्यु

१३ हजारमा संक्रमण

रासस मे २४, २०२०

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली १ सय १७ पुगेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

एनआरएनए स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईदुई तथा संयुक्तराज्य अमेरिका, कतार र कुवेतमा एकएक नेपालीको यो साता मृत्‍यु भएको हो । 

हालसम्म सबैभन्दा बढी बेलायतमा ६५ गैरआवासीय नेपालीको मृत्यु भएको छ । कोरोनाका कारण युएईमा १८ नेपालीले  ज्यान गुमाएका छन् भने अमेरिकामा मृत्‍यु हुने नेपालीको संख्या १६ पुगेको छ ।

यसैगरी, साउदी अरबमा सात, नेपालमा तीन तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन, कतार र कुवेतमा एकएक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशत रहेको जनाइएको छ । २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन् । ४० वर्षभन्दा कम उमेर समूहमा मृत्‍यु  हुने नेपाली १६ प्रतिशत छन् । बाँकी आठ प्रतिशतको उमेर समूह खुलेको छैन ।

समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । तीमध्ये मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोपमा १० र  एशियामा पाँच प्रतिशतमा संक्रमणमा देखिएको हो । अष्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको संस्थाले जनाएको छ । 

संक्रमितमध्ये चार हजारभन्दा बढी नेपाली कोरोना संक्रमणबाट मुक्त भएको सापकोटाले जानकारी दिए । कोरोनाले बढी प्रभावित देशमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुँदै गएको र मध्यपूर्वका देशमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य समितिका अनुसार कतारमा ६ हजार ९११, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार २३०, साउदी अरबमा एक हजार ३६४, नेपालमा ५८५,  युएईमा पाँच सय, बहराइनमा ३११, कुवेतमा ८४, मलेसियामा ५५, पोर्चुगलमा ४२, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानडामा १८, अष्ट्रेलियामा १२, माल्दिभ्समा १६, जापानमा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चारचार, साइप्रस र  न्युजिल्याण्डमा तीनतीन, माल्टा, हंककंग, पोल्याण्ड र  रुसमा दुईदुई तथा म्यानमा, रोमानिया  र फ्रान्समा एक  नेपालीलाई कोरोना संक्रमण भएको छ ।

यो साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू