शुक्रबार, वैशाख ७, २०८१
01:59 | ०६:४४

चीनमा नयाँ संक्रमित शुन्य

रासस-एपी मे २३, २०२०


बैंकक । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उद्गमस्थल चीनमा पहिलोपटक नयाँ संक्रमणका केसहरु शुन्य भएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ बिरामी नभेटिएपनि अहिले ७९ जना संक्रमितको उपचार भइरहेको जनाएको छ । चीनमा अहिलेसम्म ८२ हजार ९७१ जना संक्रमित भएका छन् भने ४ हजार ६३४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

कोरोनाभाइरसको संक्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरी दिनप्रतिदिन संक्रमित भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु फेरी धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लव, बार, रेष्टुरेन्टलगायतका व्यवसायिक कार्यालयहरु बन्द गरिएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट ११ हजार १६५ जना संक्रमित भएका छन् भने २६६ जनाको मृत्यु भएको छ ।

अहिले भेटिएका १३ जना राजधानी सोलसँगैको ग्येन्गी प्रान्तमा भेटिएका हुन् । त्यस क्षेत्रमा थप कडाई गरिएको छ । पछिल्लो समयमा मात्रै दक्षिण कोरियामा झण्डै पाँच सय जना संक्रमित भेटिएका छन् । पहिचान गर्ने र परिक्षण गर्ने क्रम पनि तिव्र पारिएको जनाइएको छ ।

दक्षिण कोरियामा संक्रमण नफैलिने गरी उच्च सतर्कतासहित उच्च शिक्षाका लागि केही शैक्षिक संस्थाहरुमा भने अध्ययन अध्यापन थालिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू