शनिबार, वैशाख ८, २०८१
20:10 | ००:५५

समाजको रित यस्तै छ जित्नेहरुको यहाँ राज हुन्छ…

प्रदीप करन्जित मे २०, २०२०

प्रदीप करन्जित

सबैले दिने मायाहरुमा चोट लुकेको हुन्छ 

त्यसैले म तिमीलाई चोटहरुमा माया लुकाएर दिन्छु 

समाजको रित यस्तै छ जित्नेहरुको यहाँ राज हुन्छ 

तिम्रो जीत मेरो रहर,त्यसैले म हारेरै तिमीलाई जिताइदिन्छु 

बल्ल बुझें मैले !

अटेर गरे भावनाहरु आँफैलाई दुख्दो रहेछ 

नभिजे परेलीहरु यहाँ छाती छियाछिया पर्दो रहेछ  

भगवान होइन, म पनि मान्छे नै हुँ तिमी जस्तै  

तिम्रो जस्तै मुटु मेरो पनि, घाउ त्यसैले दुख्दो रहेछ 

सबैले दिने खुशीहरुमा स्वार्थ लुकेको हुन्छ

त्यसैले म तिमीलाई पीडाहरुमा खुशी लुकाएर दिन्छु  

जीवनको रित हो यो…

रगतको नाताहरुमा आफन्तपन लुकेको हुनुपर्दछ 

टुटेका नाताहरुमा त्यसैले रगतको चिनो कोरेर दिन्छु 

देखे सुकेका पालुवाहरु, आँफै हारे जस्तो लाग्छ 

हेरे टाढा क्षितिज, भिडमा पनि यहाँ हराए जस्तो लाग्छ 

शब्दहरु बिर्सेको छैन् लेख्न मैले नखोजेको पनि हैन 

नांगो कथाहरुमा स्वाभिमान बचाउन मुस्किल रहेछ 

भन्छ यहाँ जिन्दगीको माला दु:ख सुःखको फूलले बुनेको हुन्छ 

त्यसैले थोपा आसुँ लुकाएर तिम्रो मुस्कानमा रमाइदिन्छु 

सबैले दिने मायाहरुमा चोट लुकेको हुन्छ 

त्यसैले म तिमीलाई चोटहरुमा माया लुकाएर दिन्छु 

यथार्थ हो यो…

हेरेर भत्केको घर, सपना महलको देख्न गार्हो रहेछ 

हारेरै भएपनि आज भविष्य त्यो जित्ने रहर हुदोरहेछ 

टाढा टाढा जानुनै छ जब, पल मिलनको कस्तो त्यो भ्रम 

जिजीबिषाहरु नै अभिशाप, फेरी अमुर्तको रहर किन छ? 

थाहा छ तिमीलाई ? 

दुनियाँले बाड्ने सपनाहरु मृगतृष्णा जस्तो त्यो हुन्छ

त्यसैले आशीर्वादहरुमा तिम्रो सपना लुकाएर दिन्छु 

हरेक मन्दिरहरुमा ढुंगाको देवताको बास हुन्छ 

त्यसैले म मेरो मन्दिरमा तिम्रो तस्बिरको पूजा गरिदिन्छु 

सबैले दिने मायाहरुमा चोट लुकेको हुन्छ 

त्यसैले म तिमीलाई चोटहरुमा माया लुकाएर

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू