बुधबार, २९ जुलाइ, २०२६
10:02 | १४:४७

एनआरएनए विश्व ज्ञान सम्मेलन तयारीबारे परराष्ट्रमन्त्रीसहित अन्य मन्त्रीहरुसँग छलफल

नेपाली लिङ्क जुलाइ २८, २०२६

काठमाडौँ – नेपाल सरकारको सहकार्यमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको ‘चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७’ तयारी सम्बन्धमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरी सम्मेलनको अवधारणापत्र प्रस्तुत गरिएको छ।

प्रतिनिधिमण्डलमा संघका उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राई, उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मी, उपमहासचिव कृष्ण पोखरेल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत तथा वरिष्ठ अधिकृत कुनाल मिश्र सहभागी थिए।

भेटका क्रममा उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले सम्मेलनको उद्देश्य, विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको ज्ञान, सीप, प्रविधि तथा अनुभवलाई नेपाल सरकारका राष्ट्रिय प्राथमिकतामा परेका विकास कार्यक्रमहरूसँग केन्द्रित गर्दै नेपालको विकास तथा समृद्धिमा प्रभावकारी रूपमा परिचालन गर्ने योजनाबारे जानकारी गराए।

उनले सम्मेलनलाई केवल छलफलमा सीमित नराखी सरकार, शैक्षिक तथा अनुसन्धान संस्थाहरू, निजी क्षेत्र र विश्वभरका नेपाली विज्ञहरूबीच परिणाममुखी सहकार्यको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि उल्लेख गरे।

गैरआवासीय नेपाली संघद्वारा सन् २०१८ मा आयोजित प्रथम विश्व नेपाली ज्ञान सम्मेलनमा आफ्नो सहभागिता स्मरण गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले यस्ता सम्मेलनहरूले नेपाल र विश्वभर रहेका नेपाली विज्ञहरूबीच ज्ञान आदानप्रदान तथा सहकार्य विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ सफल बनाउन नेपाल सरकार आवश्यक सहकार्य गर्न पूर्ण रूपमा सकारात्मक रहेको धारणा व्यक्त गरे। साथै, खनालले विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, उद्यमी तथा पेशाकर्मीहरूको ज्ञान र अनुभवलाई नेपालको विकास र समृद्धिका लागि उपयोग गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

भेटवार्ताका क्रममा उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राईले गैरआवासीय नेपाली नागरिकता ऐन कार्यान्वयन तथा त्यससँग सम्बन्धित विद्यमान कानुनी एवं व्यवहारिक अवस्थाबारे पुन: जानकारी गराउँदै कार्यान्वयनका
क्रममा देखिएका चुनौतीहरूको समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरिन्।

लामो समयदेखि प्रतिक्षारत एनआरएन ऐनलाई यथाशीघ्र अन्तिम रूप दिन उनको आग्रह थियो । साथै, ऐन संशोधनमा समय लागे मन्त्रिपरिषद्को निर्णयमार्फत जग्गा, लगानी, बैंकिङ, भिसा, सवारी चालक अनुमतिपत्रलगायत सुविधाहरू तत्काल कार्यान्वयन गर्न अनुरोध गर्दै सरकारसँग आवश्यक सहकार्य र प्राविधिक सहयोग गर्न एनआरएनए प्रतिबद्ध रहेको उनले उल्लेख गरिन्।

जवाफमा परराष्ट्रमन्त्रीले गैरआवासीय नेपालीहरूको दीर्घकालीन चासोसँग सम्बन्धित सम्पत्ति, लगानी तथा भिसासम्बन्धी केही कानुनी व्यवस्थामा आवश्यक संशोधन गर्ने तयारी भइरहेको जानकारी दिए।

यसबाट गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी तथा आर्थिक गतिविधिमा थप सहज वातावरण सिर्जना हुने विश्वास परराष्ट्रमन्त्रीको थियो।

यसै क्रममा प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा प्रमुख पुष्पराज भट्टराईसँग पनि छुट्टै भेटवार्ता गरेको थियो।

भेटमा गैरआवासीय नेपाली ऐन, विश्व ज्ञान सम्मेलन–२०२७ को तयारी, नेपाल सरकार र गैरआवासीय नेपाली संघबीचको समन्वय, नेपाली डायस्पोराको ज्ञान, सीप तथा अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने विषय तथा गैरआवासीय नेपालीसँग सम्बन्धित समसामयिक मुद्दाहरूमा छलफल भएको थियो।

साथै, एनआरएनएद्वारा आयोजना हुन गइरहेका युरोप क्षेत्रीय सम्मेलन तथा एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन तयारीबारे समेत जानकारी आदानप्रदान गरिएको थियो।

यसैगरी प्रतिनिधिमण्डलले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनसँग भेटवार्ता गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र प्रस्तुत गरेको थियो।

भेटका क्रममा नेपालमा नवप्रवर्तन, अनुसन्धान, प्रविधि विकास तथा ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने सरकारको अभियानलाई सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उल्लेख गर्दै सहकार्यका लागि अनुरोध गरिएको थियो।

मन्त्री पुनले विदेशमा रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा उद्यमीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग प्रभावकारी रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याए।

उनले ज्ञान हस्तान्तरण, अनुसन्धानमा अन्तर्राष्ट्रिय सहकार्य तथा नवप्रवर्तन प्रवर्द्धनका क्षेत्रमा गैरआवासीय नेपाली संघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास पनि व्यक्त गरे।

उनले ब्रेन गेन सेन्टर पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिँदै उक्त अभियानलाई सफल बनाउन विदेशमा रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा उद्यमीहरूको ज्ञान, सीप र अनुभव अपरिहार्य हुने बताए ।

साथै, विश्वभर फैलिएको नेपाली डायस्पोराको बौद्धिक तथा व्यावसायिक क्षमतालाई नेपालको समृद्धि र दिगो विकासका लागि प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ मार्फत विश्वभर रहेका नेपालीहरूको ज्ञान, अनुसन्धान, नवप्रवर्तन, प्रविधि, सीप तथा अनुभवलाई नेपालको सुशासन, आर्थिक रूपान्तरण, नवप्रवर्तन तथा दिगो विकासका राष्ट्रिय प्राथमिकतासँग प्रभावकारी रूपमा जोड्दै नेपाल सरकार, शैक्षिक तथा अनुसन्धान संस्थाहरू, निजी क्षेत्र तथा विश्वभर रहेका नेपाली विज्ञहरूबीच दीर्घकालीन सहकार्यको सुदृढ आधार निर्माण गर्ने लक्ष्य राखिएको छ।

गैरआवासीय नेपाली संघको आयोजनामा प्रथम विश्व नेपाली ज्ञान सम्मेलन सन् २०१८, दोस्रो सम्मेलन सन् २०२० तथा तेस्रो सम्मेलन सन् २०२३ मा सफलतापूर्वक सम्पन्न भइसकेका छन्। ती सम्मेलनबाट प्राप्त अनुभव, उपलब्धि तथा सिकाइलाई आधार बनाउँदै चौथो विश्व ज्ञान सम्मेलन–२०२७ आगामी जनवरीमा आयोजना गर्न लागिएको हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू