बुधबार, २२ जुलाइ, २०२६
11:02 | १५:४७

नेपाली ओपन कन्सर्टमा प्रस्तुति दिन मन्त्र ब्यान्ड र गायिका नीता थापा आइपुगे बेलायत

कन्सर्ट शनिबार अल्डरसट रश्मोर एरिनामा

नेपाली लिङ्क जुलाइ २२, २०२६

लन्डन- बेलायतमा आयोजना हुने १८ औं नेपाली ओपन कन्सर्टमा प्रस्तुति गर्न कलाकारहरु लन्डन आइपुगेका छन्।

मगर संघ यूकेको आयोजनामा यही शनिबार बेलायतको अल्डरसटस्थित रश्मोर एरिनामा हुने कन्सर्टका मुख्य आकर्षण दार्जिलिङको मन्त्र ब्यान्ड र भोइस् अफ नेपाल सिजन ७ की विजेता गायिका नीता थापा मगर बुधबार बिहान लन्डन उत्रिएका हुन्।

लन्डन हिथ्रो विमानस्थलमा कलाकारहरुलाई कन्सर्ट आयोजक मगर संघ यूके अध्यक्ष लालबहादुर पुन नेतृत्वको टोलीले स्वागत गरेको छ । संघका उपाध्यक्ष एवम् कन्सर्ट संयोजक गुमानसिंह थापा, सल्लाहकार एवम् बुद्ध मोर्गेज निर्देशक किशोर राना, सांस्कृतिक सहसंयोजक रुक आले, युथ अध्यक्ष दीपक थापा माइथाने मगर, शेरजंग रोकासहितका पदाधिकारीले कलाकारलाई पुष्पगुच्छा र खादाले बेलायतमा स्वागत गरे।

बेलायत उत्रिएलगत्तै कलाकारहरुले बेलायतवासी दर्शकमाझ प्रस्तुतिका लागि उत्साहित रहेको भन्दै सबैलाई कन्सर्टमा उपस्थितिका लागि निमन्त्रणा गरेका छन्।

लोकप्रिय मन्त्र ब्यान्डका लिड भोकलिष्ट भाष्कर देवानले बेलायतका नेपालीहरुमाझ प्रस्तुति दिन आफूहरु आतुर रहेको सुनाए। १० वर्षअघि पहिलोपटक बेलायतमा इन्डोर प्रस्तुति गरेको स्मरण गर्दै उनले यसपटक खुला आकाशमुनि हुन लागेको ओपन कन्सर्ट झनै विशेष र मनोरञ्जनात्मक बन्ने विश्वास व्यक्त गरे। मेनेजर एवम् गितारिष्ट प्रज्ञा लामाले सिंगो ब्यान्ड कन्सर्टका पूर्ण तयारीका साथ बेलायत उत्रिएको जनाए।

त्यस्तै, पहिलोपटक बेलायत आएकी भोइस् अफ नेपाल सिजन ७ की विजेता गायिका नीता थापाले ओपन कन्सर्टमा प्रस्तुति दिन आफू उत्साहित रहेको सुनाइन्। कन्सर्टका लागि तयार रहन भन्दै उनले बेलायतवासी सबै नेपालीलाई निम्तो गरिन्।

मगर संघ यूके अध्यक्ष लालबहादुर पुनले यस वर्षको कन्सर्टका लागि लोकप्रिय ब्यान्ड र कलाकारलाई स्वागत गर्न पाउँदा खुशी व्यक्त गरे। उनले एउटा पूर्ण सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन सबैलाई निम्तो दिए। संयोजक एवम् संघका उपाध्यक्ष गुमानसिंह थापाले बेलायतका नेपालीमाझ लेजेण्डरी मन्त्र ब्यान्ड र प्रतिभावान गायिका नीता थापाजस्ता कलाकारलाई प्रस्तुति गर्न पाउँदा आयोजक उत्साहित रहेको सुनाए। उनले कन्सर्टको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए।

‘म्यूजिक फर युनिटी’ को नारासहित बेलायतमा हरेक वर्ष आयोजना हुंदै आएको छ नेपाली ओपन कन्सर्ट। संगीतमार्फत् बेलायतका नेपालीमाझ एकता र सद्भाव बढाउने लक्ष्य कन्सर्टको छ । यसपटक १८ औं संस्करणको कन्सर्टमा मन्त्र ब्यान्ड र नीता थापाबाहेक भोइस अफ नेपाल सातौं सिजनकी सेकेन्ड रनर अप पुनम गुरुङ, तेस्रो सिजन सेमीफाइनालिष्ट गोविन पुन, गायिका सम्झना भण्डारी, सम्झना बुढा, रुपी सिञ्जालीका साथमा आठौं मगर गट ट्यालेन्टका विजेता एलिसा पुन र प्रतिमा पुनको प्रस्तुति पनि रहनेछ।

कन्सर्ट दिउंसो १ बजेदेखि बेलुका १० बजेसम्म चल्नेछ। कन्सर्टस्थलमा नेपाल खानासहित विभिन्न सेवा र व्यापारका थुप्रै स्टलहरु राखिनेछन्।

कन्सर्टको टिकट अनलाइन लिंदा ४० पाउण्ड छ भने भेन्यूमै लिंदा ५० पाउण्ड पर्नेछ।

कन्सर्टको टिकटका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू