शुक्रबार, वैशाख ७, २०८१
12:14 | १६:५९

बेलायतमा संक्रमणको दर फेरि माथि चढ्न थाल्यो

'आर नम्बर' उकालो लाग्यो

नेपाली लिङ्क मे १५, २०२०

लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमणको दर पछिल्ला केहि दिनमा फेरि बढ्न थालेको छ ।

संक्रमणको दर फेरि उकालो लाग्न थालेको सूचना सरकारका ‘साइन्टिफिक एड्भाइजर’ (वैज्ञानिक सल्लाहकार) हरुले सरकारलाई दिएका छन् ।

संक्रमण दरको सूचक मानिने ‘आर नम्बर’ अहिले शून्य दशमलव ७ देखि १ को बीचमा रहेको बताइएको छ । जुन नम्बर पछिल्ला केहि सातासम्म शून्य दशमलव ५ देखि शून्य दशमलव ९ को बीचमा थियो ।

‘आर नम्बर’ १ रहँदाको अवस्थामा एकजना संक्रमितबाट अर्को एक जनालाई संक्रमण सर्ने सम्भावना रहेको ठानिन्छ । जुन नम्बर शून्य दशमलव ५ रहँदा २ जना संक्रमितबाट मात्र १ जनामा संक्रमण सर्ने हुन्छ ।

‘आर नम्बर’ १ भन्दा माथि रहेको अवस्थालाई निकै जोखिमपूर्ण र खतरनाक मानिन्छ । यो नम्बर शून्य दशमलव ५ भन्दा ओरालो लागेपछि अवस्था कम जोखिमपूर्ण मानिन्छ ।

पछिल्ला केहि दिनमा संक्रमणका नयाँ केस र दैनिक मृत्युको संख्यामा गिरावट आइरहेपनि संक्रमणको दर फेरि बढ्न थाल्नु चिन्ताको विषय बनेको छ ।

स्रोतका अनुसार बेलायतमा नयाँ संक्रमणका केसहरु समेत घट्दै गएको भएपनि केहि समय अघिजत्तिकै तीव्र दरमा भने अहिले घटेका छैनन् ।

‘आर नम्बर’ को पछिल्लो तह अस्पतालमा भर्ना हुने संक्रमितहरुको संख्याका आधारमा निर्धारण गरिएको हो । जसको अर्थ अहिले सार्वजनिक ‘आर नम्बर’ ले करिब तीन साता अघिको संक्रमणको दरलाई चित्रण गरेको हुन्छ ।

यसबाट प्रधानमन्त्री बोरिस जोन्सनले केहि दिनअघि मात्रै लकडाउन खुकुलो पार्ने घोषणा गर्नुभन्दा अघि नै संक्रमणको दर बढ्न थालेको समेत स्पष्ट हुन्छ । गत बुधबारदेखि पहिलो चरणमा लकडाउन खुकुलो पारिएपछि त्यसले संक्रमणको दरलाई कस्तो प्रभाव पार्छ भनेर थाहा पाउन भने अझै केहि दिन पर्खिनै पर्ने भएको छ ।

यसैबीच, कोरोना संक्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा ३ सय ८४ जनाको ज्यान गएको छ । त्यस्तै, ३ हजार ५ सय ६० नयाँ केस थपिएका छन् । हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ३३ हजार ९ सय ९८ र कुल संक्रमित संख्या २ लाख ३६ हजार ७ सय ११ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू