मंगलबार, २१ जुलाइ, २०२६
06:07 | १०:५२

एण्डी बर्नहाम बने बेलायतको ५९औँ प्रधानमन्त्री

रासस/एएफपी जुलाइ २०, २०२६

लन्डन । बेलायतमा एन्डी बर्नहाम नयाँ प्रधानमन्त्री बनेका छन्। गत शुक्रबार लेबर पार्टीको नेता बनेका ५६ वर्षीय बर्नहाम आफ्नै दलका सर किअर स्टार्मरलाई विस्थापित गर्दै सोमबार बेलायतको ५९औँ प्रधानमन्त्री बनेका हुन् ।

बकिङ्गम दरबारले नियुक्ति पुष्टि गर्दै राजा चार्ल्सले उनलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ । दरबारको विज्ञप्तिमा राजाको उक्त आह्वान बर्नहामले स्वीकार गरेको जनाइएको छ । उनी पाँच वर्षभित्रै बेलायतको प्रधानमन्त्री बन्ने चौथो व्यक्ति हुन् ।

यसअघि जुन २२ मा सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टार्मरले सोमवार राजा चार्ल्सलाई बकिङ्गम दरबारमा भेट्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए ।

त्यसअघि डाउनिङ स्ट्रिटमा सम्बोधन 
गर्दै स्टार्मरले दुई वर्ष अघिभन्दा देश ‘बलियो’ बनेको बताएका थिए । उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण साथ हुने पनि बताए ।

सम्बोधनका क्रममा स्टार्मरले प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा अर्थतन्त्र बलियो भएको, सार्वजनिक सेवाहरूमा सुधार आएको, बालबालिकाहरू गरिबीबाट मुक्त भएका, आप्रवासन घटेको र देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा ‘निकै बढेको’ दावी गरे ।

लेबर पार्टी संयुक्त अधिराज्य (बेलायत) को तल्लो सदन ‘हाउस अफ कमन्स’मा बहुमतप्राप्त दल हो। उक्त दलको नेता चुनिएसंगै बर्नहाम प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रधानमन्त्री बनेपछि उनले संसदीय निर्वाचनको घोषणा गर्न सक्नेछन् तर अहिलेसम्म उनले ताजा चुनावको विकल्प रोज्ने सङ्केत देखाएका छैनन् । बेलायतमा नियमित तालिका अनुसार सन् २०२९ अगस्ट १५ मा आवधिक निर्वाचन हुनेछ ।

बर्नहामले आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गरेका छन् ।

उनी विगतमा सन् २०१० र सन् २०१५ दुई पटक पार्टी नेतृत्वको प्रतिस्पर्धामा विफल भएका थिए । ग्रेटर म्यान्चेस्टरका पूर्व नगरप्रमुख बर्नहाम गत जुन महिनामा मात्रै उपनिर्वाचन जितेर सांसद बनेका हुन् ।

बकिङ्गम दरबारबाट निस्किएर डाउनिङ स्ट्रिटमा बोलेका बर्नहामले आफू १० वर्षमा देशको सातौँ प्रधानमन्त्री बनिरहेको यथार्थ हेक्का रहेको बताउँदै अब ‘एउटा समीक्षा र नयाँ सङ्कल्पको समय’ भएको बताए ।

उनले बेलायतले विश्वलाई उसले स्थायित्व प्राप्त गर्न सक्ने कुरा देखाउनु आवश्यक रहेको पनि बताएका छन् । बर्नहामले आफ्नो चुनौती भनेको नयाँ राजनीतिक र आर्थिक मोडल निर्माण गर्नु र देशको हरेक क्षेत्रलाई ऊर्जावान् बनाउनु रहेकोमा जोड दिएका छन् ।

‘म तपाईँहरूलाई सुन्छु। हामीले पर्याप्त रूपमा राम्रो गरेका छैनौँ र हामी अझ राम्रो हुन आवश्यक छ। हामी हुनेछौँ,’ उनले थपे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू