शनिबार, १८ जुलाइ, २०२६
22:59 | ०३:४४

गल्कोट समाज यूके दशौं वार्षिकोत्सव तयारी तीव्र, आइपुगे गायक विष्णु खत्री

नेपाली लिङ्क जुलाइ १७, २०२६

लन्डन-परोपकार र सामाजिक कार्यमा सक्रिय बेलायतको नेपाली संस्था गल्कोट समाज यूके यतिबेला आफ्नो स्थापनाको दशौं वार्षिकोत्सव मनाउने तयारीमा छ।

यही जुलाइ २० तारिख सोमबार बर्मिङहमको वेष्ट ब्रोमिचस्थित द कन्फरेन्स सुइटमा तय १०औं वार्षिकोत्सव समारोहको तयारी अन्तिम चरणमा पुगेको समाजले जनाएको छ।

यसैबीच, कार्यक्रममा विशेष प्रस्तुति दिन लोकप्रिय गायक विष्णु खत्री बेलायत आइपुगेका छन्। शुक्रबार दिउँसो बर्मिङहम एअरपोर्ट उत्रिएका गायक खत्रीलाई समाजका अध्यक्ष विष्णु चालिसे, सांस्कृतिक विभाग संयोजक सुरेश परियारलगायतले स्वागत गरेका छन्।

कार्यक्रममा गायक खत्रीका साथ गायिकाद्धय जमुना राना र सपना रोकाले पनि सांगीतिक प्रस्तुति गर्दैछन् । साथै, स्थानीय कलाकारका आकर्षक नृत्य, गीत, डिजेसहितका अन्य मनोरञ्जनात्मक गतिविधि पनि रहनेछन्। त्यस अवसरमा गल्कोटे नौमती बाजादेखि गल्कोट क्षेत्रको मौलिक कला, संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रमसम्म प्रस्तुतिको तयारी गरिएको समाजका सांस्कृतिक विभाग संयोजक सुरेश परियारले जानकारी दिए।

समाजका अध्यक्ष विष्णु चालिसे दशौं वार्षिकोत्सवलाई समाजको विगत १० वर्षलाई फर्केर हेर्ने एउटा विशेष अवसरका रुपमा सेलिब्रेट गर्न लागिएको बताउँछन्।

‘जुन लक्ष्य राखेर १० वर्षअघि संस्था स्थापना गरिएको थियो, आज त्यो धेरै हदसम्म हासिल भएको देख्दा हामीलाई गौरव लागेको छ’, अध्यक्ष चालिसेले भने, ‘बेलायतमा गल्कोट हाउसको सपना पूरा भएको छ । गल्कोट नगर हस्पिटलमा फिजियोथेरापी सेवा सञ्चालन भइरहेको छ । समाजकै सहयोगमा अरु थुप्रै परोपकारी कार्य सफलतापूर्वक सम्पन्न भएका छन्।’

दशौं वार्षिकोत्सव कार्यक्रम सफल पार्न समाजका अध्यक्ष विष्णु चालिसेको संयोजकत्वमा उपाध्यक्ष सुरेश भण्डारी र पूर्व अध्यक्ष चन्द्र सहानी सदस्य रहेको मूल आयोजक समिति गठन गरिएको छ ।

त्यस्तै, पूर्व अध्यक्ष भोजराज कंडेलको संयोजकत्वमा कोषाध्यक्ष तेज भण्डारी सदस्य रहेको आर्थिक संकलन समिति तथा सचिव राजु सापकोटाको संयोजकत्वमा संस्थापक महासचिव पुष्प उप्रेती र पूर्व महासचिव कृष्ण खरेल सदस्य रहेको प्रचारप्रसार समिति पनि गठन भएको छ ।

वार्षिकोत्सव समारोहमा लन्डनस्थित नेपाली दूतावासदेखि बेलायतका प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधिलाई अतिथिका रुपमा निमन्त्रणा गरिएको छ । कार्यक्रम दिउँसो २ बजेदेखि बेलुकासम्म चल्नेछ । समाजका महासचिव गोविन्द कंडेल, सचिव राजु सापकोटा र संस्थापक महासचिव पुष्प उप्रेतीले कार्यक्रम सञ्चालन गर्नेछन्।

सो अवसरमा दशौं वार्षिकोत्सव समारोहका लागि आर्थिक सहयोग प्रदान गर्ने दाताहरुलाई विशेष मायाको चिनो र खादासहित सम्मान गरिने सचिव राजु सापकोटाले जानकारी दिए।

बाग्लुङ जिल्लाको गल्कोट क्षेत्र पुख्र्यौली घर भइ हाल बेलायतमा बस्दै आएका गल्कोटेहरुलाई संगठित गर्दै सन् २०१६ मा गल्कोट समाज यूके स्थापना भएको थियो । रेशम थापा बुढाथोकी समाजका संस्थापक अध्यक्ष हुन् भने त्यसयता संस्थाको नेतृत्व राजु कंडेल, भोजराज कंडेल र चन्द्र सहानी हुंदै अहिले विष्णु चालिसेको काँधमा आइपुगेको छ ।

समाजले केही वर्षअघि बर्मिङहममा आफ्नै घर खरिद गरी गल्कोट हाउस स्थापना गरेको छ । नेपालमा स्वास्थ्य, शिक्षादेखि दैवीप्रकोपसम्मका क्षेत्रमा थुप्रै परोपकारी कार्यमा समेत समाजले योगदान गर्दै आएको छ ।

समाजले आफ्नो दशौं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन बेलायतवासी गल्कोटेहरु तथा सिंगो नेपाली समुदायमा अपील गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू