१७औं नेपाली मेला ३० अगष्टमा लन्डनमा, तयारीमा जुट्यो तमुधिं यूके

लन्डन- बेलायतको नेपाली समुदायको वर्षकै बहुप्रतिक्षित इभेन्ट नेपाली मेलाको १७ औं संस्करण आगामी अगष्ट महिनाको ३० तारिख आइतबार हुने भएको छ ।
तमुधिं यूकेको आयोजनामा लन्डनस्थित केम्पटन पार्क रेस कोर्समा तय मेलालाई भव्य र सफल पार्न तयारीका कामहरु अहिले तीव्र पारिएको छ।
यसैबीच, शनिबार तमुधिं भवन मिचेटमा मेला तयारीकेन्द्रित बैठक सम्पन्न भएको छ । तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा मेलाको तयारीका लागि हालसम्म भएका प्रगतिको समीक्षा गर्दै बाँकी योजनाहरुबारे छलफल गरिएको छ ।
बैठकमा १८ औं नेपाली मेलाका संयोजक एवम् तमुधिं यूके उपाध्यक्ष कमल कोने गुरुङले मेलाको तयारीका सम्बन्धमा एक प्रिजेन्टेसनमार्फत् जानकारी गराएका थिए।
उनले मेलामा सांस्कृतिक झाँकी तथा नृत्यका लागि संघसंस्थाहरुलाई निम्तो पठाइसकिएको जनाए । गत वर्ष ४५ संस्थाले झांकी र जम्मा २२ संस्थाले नृत्यमा भाग लिएको उल्लेख गर्दै संयोजक गुरुङले यस वर्षको सहभागिता पनि सोही संख्या हाराहारीमा हुने बताए ।
केही नयाँ संस्थालाई अवसर दिने र त्यसका लागि हरेक संस्थाबाट एउटा समूहलाई मात्रै स्थान दिने योजना रहेको उनको भनाइ छ ।

यसपटक मेलामा प्रस्तुत झाँकी तथा नृत्यहरुमा उत्कृष्ट भएबापत प्रदान गरिने पुरस्कार राशी पनि बढाइएको छ । जसअनुसार एम्बासडर कप ११ सय पाउण्डबाट बढाएर १५ सय पाउण्ड, फस्ट रनर अप ५ सय पाउण्डबाट ७ सय पाउण्ड तथा एनआरएनए कप तीन सय पाउण्डबाट बढाएर ५ सय पाउण्ड पुरयाइएको छ ।
मेलामा यस वर्ष पनि गत वर्षजस्तै ६५ वटा हाराहारीमै स्टल राख्ने तयारीअनुसार बुकिङको काम अघि बढाइएको जानकारी गराइयो । खानाका ६ वटा स्टल रहनेछन् भने बाँकी स्टल नेपाली पोशाक र सामग्रीदेखि विभिन्न व्यापार, सेवा र च्यारिटीका हुनेछन् ।
मेलामा सहभागीका लागि प्रवेश शुल्क विगतमाजस्तै ५ पाउण्ड नै राखिएको छ भने पार्किङ शुल्क पनि ५ पाउण्ड नै छ । ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, १२ वर्षमुनिका बालबालिका र अपांगता भएकालाई भने निशुल्क प्रवेश दिइनेछ ।
मेलाको संयोजक उपाध्यक्ष कमल कोने गुरुङ छन् । मेलाका लागि स्टल संयोजक उपाध्यक्ष दिलमाया गुरुङ, मिडिया संयोजक एसके गुरुङ, स्टेज सजावट चारभञ्ज्याङ तमु समाज (अध्यक्ष दुर्गा गुरुङ) छन् । झाँकी प्रदर्शनीको सुरुआत् साउथ इष्ट रिजनल तमुधिं लन्डन (अध्यक्ष शिवराम गुरुङ एमभिओ) को टोटे प्रस्तुतिबाट गरिनेछ।
बेलायतका लागि नेपाली कार्यवाहक राजदुत विपिन दुवाडी प्रमुख अतिथि रहने मेलामा बेलायतस्थित अन्य विभिन्न मुलुकका राजदूत एवम् कूटनीतिक प्रतिनिधि, स्थानीय काउन्सिलरहरु, नेपाली मूलका बेलायती मेयर तथा काउन्सिलरहरु, नेपाली संघसंस्थाका प्रतिनिधिसहित जम्मा ३ सय अतिथि निम्त्याइनेछ ।
तयारी बैठकमा संस्थाका अध्यक्ष जुमकाजी गुरुङले यस वर्षको मेला झनै वृहद र सफल बनाउने गरी तयारीमा जुट्न कार्यसमिति एवम् सिंगो संस्थालाई आव्हान गरे। उनले आ- आफ्नो जिम्मेवारीअनुसारको कर्तव्य पूरा गर्न सबैलाई अपील गरे।
‘अठारौं संस्करणसम्म आइपुग्दा नेपाली मेलाको प्रतिष्ठासंगै सहभागीहरुको अपेक्षा पनि स्वभाविक रुपमा बढ्दै गएको छ’, अध्यक्ष गुरुङले भने, ‘त्यसैलाई आत्मसात गर्दै आयोजकका रुपमा हामीले विगतका कमीकमजोरी सच्च्याउँदै, राम्रा पक्षहरुलाई थप परिमार्जन गर्दै झनै बढी व्यवस्थित र गुणस्तरीय कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।’
बैठकमा संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्ष ज्ञाम गुरुङ, तमु फोरम यूके अध्यक्ष रि क्याप्टेन राजु गुरुङलगायतले मेलाको तयारीसम्बन्धि विभिन्न सुझाव दिएका थिए।
सोही अवसरमा तमुधिं युके आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ र महासचिव शान्तकुमारी गुरुङले शनिबार सम्पन्न रेस फर लाइफमा आमा समूहबाट ४४ जना सहभागी भएको, ३५ सय पाउण्ड क्यान्सर रिसर्च यूकेलाई सहयोग हस्तान्तरण गरेको र खातामा बाँकी १ हजार ६ सय ९० नेपालमा परोपकारी कार्यमा खर्च गरिने जानकारी गराए ।
महासचिव डा विशाल गुरुङले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए । तमुधिं यूके कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका साथै संस्थाका ट्रष्टीहरु, पूर्व अध्यक्षहरु, एवम् सल्लाहकारहरुलगायत बैठकमा सहभागी थिए।


तस्वीर-मिलन तमु
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


