मंगलबार, २१ जुलाइ, २०२६
13:01 | १७:४६

बर्नहामको काँधमा बेलायत, उनका सामू ७ चुनौती

नेपाली लिङ्क जुलाइ २१, २०२६

तस्विर- रोयटर्स

लन्डन । बेलायतमा नयाँ प्रधानमन्त्री एन्डी बर्नहामले सोमबार औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् । तर प्रधानमन्त्रीको कुर्सीमा पुग्नासाथ उनलाई कुनै सहज यात्रा भने तय छैन ।

प्रधानमन्त्रीका रूपमा बर्नहामले देशभित्र बढ्दो महँगी, सुस्त अर्थतन्त्र, स्वास्थ्य सेवाको संकट, बढ्दो आप्रवासनदेखि युक्रेन र मध्यपूर्वको युद्धसम्म एकैसाथ धेरै मोर्चामा चुनौतीको सामना गर्नुपर्नेछ ।

प्रधानमन्त्री बन्नुअघि बर्नहामले जनताको जीवनयापनको खर्च घटाउने, स्थानीय सरकारलाई थप अधिकार दिने र आर्थिक वृद्धि तीव्र बनाउने प्रतिबद्धता जनाएका थिए । तर ती वाचा पूरा गर्न सरकारी ढुकुटीको सीमित अवस्था नै सबैभन्दा ठूलो बाधा बन्ने देखिएको छ ।

सबैभन्दा पहिलो चुनौती हो– महँगी र जीवनयापनको खर्च । ऊर्जा, खाद्यान्न र आवासको मूल्यवृद्धिले बेलायती परिवारहरू अझै दबाबमा छन् । बर्नहामले डिजिटल आईडीजस्ता महँगा परियोजना रद्द गरेर त्यही बजेट जनताको राहतमा खर्च गर्ने घोषणा गरिसकेका छन् । तर महँगी घटाउनु सरकारका लागि सजिलो काम भने हुने छैन ।

दोस्रो चुनौती हो– सुस्त अर्थतन्त्र । बेलायतमा आर्थिक वृद्धि कमजोर छ, सरकारी ऋण उच्च छ र कर नबढाई विकासमा लगानी गर्ने प्रतिबद्धता पनि बर्नहामले गरेका छन् । यस्तो अवस्थामा रोजगारी सिर्जना र अर्थतन्त्र चलायमान बनाउनु उनको ठूलो परीक्षा हुनेछ ।

तेस्रो चुनौती स्वास्थ्य सेवा र सामाजिक सुरक्षा हो । राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसमा उपचारका लागि लामो प्रतीक्षा सूची छ । साथै अपाङ्गता भत्ता र सामाजिक सुरक्षा प्रणालीमा सुधार गर्नुपर्ने दबाब पनि सरकारमाथि बढिरहेको छ । तर सुधार गर्दा लाखौं सेवाग्राही प्रभावित नहुनु अर्को चुनौती हुनेछ ।

चौथो चुनौती आप्रवासन हो । बेलायतमा आप्रवासन अहिले पनि सबैभन्दा विवादित राजनीतिक मुद्दामध्ये एक हो । कानुनी र अवैध दुवै प्रकारका आप्रवासनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा बर्नहममाथि विपक्षी दल र जनतादुवैको दबाब रहनेछ ।

रक्षा र अन्तर्राष्ट्रिय राजनीति बर्नहामका लागि पाँचौँ र छैटौं चुनौतीका रूपमा देखिएका छन् । युक्रेन युद्ध, मध्यपूर्वको अस्थिरता र नेटोको रक्षा खर्च बढाउने प्रतिबद्धताबीच बेलायतले आफ्नो भूमिका कसरी निभाउँछ भन्ने प्रश्न पनि बर्नहामकै काँधमा आएको छ । साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध र युरोपसँगको सहकार्यलाई सन्तुलनमा राख्नु पनि उनको कूटनीतिक परीक्षा हुनेछ ।

यससँगै बर्नहामसामू राजनीतिक चुनौती पनि ठूलै छ । पछिल्ला वर्षहरूमा सुधारवादी पार्टी र नाइजेल फराजको प्रभाव बढ्दै गएको छ । यदि बर्नहामले जनताले अपेक्षा गरेका परिवर्तन दिन सकेनन् भने आगामी निर्वाचनमा लेबर पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।

यसैले एन्डी बर्नहामका लागि प्रधानमन्त्री बन्नु नै अन्तिम लक्ष्य होइन, वास्तविक परीक्षा त अब सुरु हुँदैछ । उनले गरेका प्रतिबद्धता व्यवहारमा कति सफल हुन्छन्, र बेलायतलाई आर्थिक तथा राजनीतिक संकटबाट बाहिर निकाल्न सक्छन् कि सक्दैनन् भन्ने कुराले नै उनको नेतृत्वको समग्र मूल्यांकन हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू