शनिबार, वैशाख ८, २०८१
04:36 | ०९:२१

बेलायतमा अस्पताल भर्नाको संख्या घट्यो

एक सातामै १३ प्रतिशत गिरावट

नेपाली लिङ्क मे ३, २०२०

लण्डन । कोरोना संक्रमणका कारण बेलायतका अस्पतालहरुमा भर्ना हुने बिरामीहरुको संख्यामा गिरावट आउन थालेको छ ।

देशव्यापी रुपमै अस्पताल भर्नाको संख्या घट्न थालेको भएपनि लण्डनमा झन् उल्लेख्य रुपमा गिरावट देखिएको छ ।

बेलायत सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ मा आइतबार नेशनल हेल्थ सर्भिस (एनएचएस) इंग्ल्याण्डका मेडिकल निर्देशक प्रा स्टेफन पाविसले अस्पताल भर्नाको ‘पीक’ समाप्त भएको जानकारी गराए ।

विशेष गरी लण्डनका अस्पतालहरुमा भर्ना हुनेको संख्या बढि दरमा घटेको उनको भनाइ थियो ।

पछिल्लो एक साताको अवधिमा बेलायतका अस्पतालमा भर्ना भएका बिरामीहरुको संख्या १३ प्रतिशतले घटेको सरकारी तथ्यांकले देखाएको छ । एक हप्ताकै अन्तरमा अस्पतालमा भर्ना भएकाको संख्या १६ हजार ३ सय ९५ बाट १४ हजार २ सय २० मा झरेको छ ।

यसैबीच, बेलायतमा कोराना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ सय १५ ले वृद्धि भएको छ । जुन बेलायतका अस्पताल, केयर होम र कम्युनिटी सबैतिरको जम्मा मृत्यु संख्या हो ।

यससंगै हालसम्म बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या २८ हजार ४ सय ४६ पुगेको छ ।

आइतबार बिहानसम्म २४ घण्टामा बेलायतमा कुल ७६ हजार ४ सय ९६ परीक्षण गराइएका छन् । यो संख्या अघिल्ला दुई दिनको तुलनामा थोरै र सरकारको दैनिक एक लाखको लक्ष्यभन्दा पनि न्यून हो ।

अहिलेसम्म बेलायतमा अत्यावश्यक सेवामा खटिएका २ लाख ‘कि वर्कर’ को परीक्षण भइसकेको सरकारका क्याबिनेट मन्त्री माइकल गोभले जानकारी गराएका छन् ।

‘ब्रिफिङ’ का क्रममा मन्त्री गोभले हाल कायम ‘लकडाउन’ बाट बाहिरिनेबारे आगामी साता प्रधानमन्त्रीले सार्वजनिक गर्ने सरकारको योजनामा विस्तृत हुने जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू