शनिबार, वैशाख ८, २०८१
19:41 | ००:२६

बेलायतको ‘दैनिक लाख परीक्षण क्षमता’को लक्ष्य पूरा

नेपाली लिङ्क मे १, २०२०

बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानकक

लण्डन । अप्रिल अन्त्यसम्ममा दैनिक १ लाख परीक्षण गर्न सक्ने गरी क्षमता विकास गर्ने बेलायत सरकारको लक्ष्य पूरा भएको छ ।

अप्रिल महिनाको अन्तिम दिन विहीबार १ लाख २२ हजारभन्दा बढी परीक्षण उपलब्ध गराइएको सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले जानकारी गराएका छन् ।

अप्रिलको शुरुमा सरकारले सार्वजनिक गरेको एक लाखको लक्ष्य निकै कठिन ठानिएको थियो । केहि दिनअघिसम्म पनि दैनिक परीक्षण २० हजारकै हाराहारीमा रहँदा यो लक्ष्य पूरा गर्नबाट सरकार चुक्नेछ भन्ने धेरैको अनुमान थियो ।

शुक्रबारको ‘कोरोना ब्रिफिङ’ मा मन्त्री ह्यानककले शुक्रबार बिहानसम्मको २४ घण्टा अवधिमा १ लाख २२ हजार ३ सय ४७ परीक्षण उपलब्ध गराइएको बताए । जसमध्ये उपयोग भएका परीक्षण भने ७० हजारभन्दा बढी मात्रै छन् ।

सरकारले उपलब्ध गराएको परीक्षणको कुल संख्यामा करिब साढे २७ हजार घरमै ‘डेलिभर’ गराइएका परीक्षण किट पनि समावेश छन् । त्यस्तै, अस्पताल र ‘एनएचएस सेन्टर’हरुमार्फत वितरण भएका अरु झण्डै १३ हजार परीक्षण किटलाई पनि कुल संख्यामा जोडिएको छ ।

लेबर पार्टीले परीक्षण क्षमता एक लाख पुरयाउने आफ्नो लक्ष्य पूरा गर्नकै लागि उक्त परीक्षण किटहरुलाई पनि जोडिएको भन्दै आलोचना गरेको छ ।

यता, बेलायतमा पछिल्लो २४ घण्टामा थप ७ सय ३९ कोरोना संक्रमित मानिसको ज्यान गएको छ । जसमा अस्पतालमा ज्यान गुमाउने ४ सय २७ सहित ‘केयर होम’ लगायतका सबै ठाउँमा भएका मृत्यु समावेश छन् ।

त्यस्तै, बेलायतमा संक्रमण भएका मानिसहरुको कुल संख्या १ लाख ७७ हजार ४ सय ५४ पुगेको छ । यो संख्या पनि अघिल्लो दिनभन्दा ६ हजार २ सय १ ले बढेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू