शनिबार, वैशाख ८, २०८१
09:18 | १४:०३

कोरोनाबाट बेलायतका ‘केयर होम’ मा पनि हजारौंले गुमाए ज्यान

नेपाली लिङ्क अप्रिल २८, २०२०

लण्डन । बेलायतमा अहिलेसम्म सार्वजनिक तथ्यांकमा समावेश नभएका हजारौं मानिसहरुले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएको पाइएको छ ।

यसअघि अस्पतालमा मृत्यु हुनेहरुको संख्या मात्रै सार्वजनिक हुँदै आएपनि बेलायतका ‘केयर होम’ हरुमा पनि ठूलो संख्याका मानिसहरुको कोरोनाका कारण मृत्यु भएको देखिएको छ ।

‘अफिस फर नेशनल स्टाटिस्टिक्स’ (ओएनएस) बाट जारी तथ्यांकअनुसार पछिल्लो २ साताको अवधिमा मात्रै इंग्ल्याण्ड र वेल्सका ‘केयर होम’ हरुमा कोरोना संक्रमणबाट ४ हजार ३ सय भन्दा बढि मानिसको मृत्यु भएको छ ।

अप्रिल १० देखि अप्रिल २४ तारिखसम्मको अवधिमा ‘केयर होम’ हरुमा कोरोनाबाट ४ हजार ३ सय ४३ जनाले ज्यान गुमाएका छन् ।

‘केयर होम’ हरुमा कोरोनाबाट भएका मृत्युको संख्या तीव्र दरमा बढिरहेको देखिन्छ ।

‘ओएनएस’ का अनुसार मार्च २० सम्मको सातामा कोरोना भाइरसका कारण ‘केयर होम’ मा भएका मृत्युको संख्या २ मात्रै थियो । जुन संख्या त्यसपछिका चार सातामा क्रमशः २२, २ सय १७ , १ हजार ४३ र ३ हजार ९३ ले वृद्धि भएको देखिन्छ ।

स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा समेत कोरोनाका कारण ‘केयर होम’ मा भएका मृत्युहरुको संख्या यसरी नै बढेको बताइएको छ ।

स्कटल्याण्डमा पनि अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका १६ सय बढि मानिसमध्ये एक तिहाईले ‘केयर होम’ मै ज्यान गुमाएका छन् ।

कोरोना महामारी शुरु भएपछि बेलायतका ‘केयर होम’ हरुमा हुने मृत्यु औसतभन्दा तीन गुणाले बढेको तथ्यांकले देखाएको छ । ‘केयर होम’ मा हुने कुल मृत्युको आधाभन्दा थोरै संख्या कोरोनाकै कारण भएका छन् ।

सोमबारसम्ममा बेलायतका अस्पतालमा कोरोना भाइरस संक्रमणबाट कारण ज्यान गुमाउनेहरुको संख्या २१ हजार ९२ छ ।

पछिल्ला दिनमा अस्पतालमा मृत्यु हुनेहरुको संख्या थोरै भएपनि घट्दै जाँदा ‘केयर होम’ हरुमा भने कोरोनाले गर्दा भएका मृत्युहरु बढ्दै गएका छन् ।

बेलायतमा कोरोनाबाट भएका कुल मृत्युमध्ये एक तिहाई ‘केयर होम’ मा मात्रै भएको ठानिएको छ । ‘केयर होम’ सहितको तथ्यांक जोड्दा अहिलेसम्म बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५ हजार नाघिसकेको देखिन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू