बुधबार, वैशाख १२, २०८१
01:57 | ०६:४२

काठमाडौंमा तय वातावरण साहित्य सम्मेलन स्थगित

नेपाली लिङ्क अप्रिल २७, २०२०

 

लण्डन । आउँदो जुन महिनामा काठमाडौंमा आयोजना गर्ने भनिएको पाँचौं वातावरण साहित्य सम्मेलन स्थगित भएको छ ।

यसअघि नेपाल भ्रमण वर्ष सफल पार्न भन्दै लण्डनस्थित नेपाली दूतावासको पहलमा गठन गरिएको साहित्य उपसमितिले उक्त सम्मेलन गर्ने तयारी थियो ।

कोरोना भाइरस महामारीको कारण उत्पन्न असहज अवस्थालाई मध्यनजर गर्दै सम्मेलन स्थगित गर्ने निर्णय भएको सम्मेलनका प्रमुख संयोजक विजय हितानले नेपाली लिंकलाई बताए ।

भ्रमण वर्षको कार्यक्रम यसअघि नै स्थगित हुँदा पनि पहिले नै तय भएको सम्मेलन स्थगित गरिएको थिएन ।

संयोजक हितानले महामारीको अन्त्य भएर अवस्थामा सुधार आए यही वर्षको अन्त्यसम्ममा र त्यो सम्भव नभए अर्को वर्ष काठमाडौंमा सम्मेलन गर्ने योजना रहेको सुनाए ।

विदेशमा रहेका साहित्यकारहरुलाई नेपाल भित्र्याउने लक्ष्यसहित आउँदो जुन ६ तारिखमा काठमाडौंको प्रज्ञा भवनमा सम्मेलन गर्ने तय गरिएको थियो ।

सम्मेलनमा वातावरण साहित्यका विषयमा कार्यपत्र पेश, वातावरणमा आधारित सिर्जना वाचन र वातावरणसम्बन्धी पुस्तक विमोचन गर्ने कार्यक्रम थियो । हरेक वर्ष जुन ५ तारिखका दिन संयुक्त राष्ट्रसंघको आव्हानमा मनाइने विश्व वातावरण दिवसको अवसरमा यो वातावरण साहित्य सम्मेलन आयोजना गर्न लागिएको थियो ।

सम्मेलन सफल पार्न विभिन्न मुलुकमा रहेका नेपाली साहित्यकारहरुका साथै नेपालबाट समेत वरिष्ठ समालोचक तथा साहित्यकार प्रा डा गोविन्दराज भट्टराई, युवा कवि प्रज्वल अधिकारी, वरिष्ठ गीतकार भाभेश भुमरी लगायत दर्जनौ साहित्यिक संघसंस्था जुटिसकेका थिए ।

सम्मेलनको आयोजक समितिमा नेपाली साहित्य विकास परिषद बेलायतका अध्यक्ष कोमल मल्ल संयोजक छन् भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरका अध्यक्ष सुमल गुरुङ र उपाध्यक्ष लक्ष्मी राई लारा, अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठान बेलायतका अध्यक्ष विकलचन्द्र आचार्य सह-संयोजक र विश्व नेपाली साहित्य महासंघ साउथ यूकेका पूर्व अध्यक्ष तथा वातावरण साहित्यकार विजय हितान सचिव छन् ।

त्यसैगरी, विश्वका चौध मुलुकबाट एकएक प्रतिनिधि पनि चयन गरिएका छन् । जसमा विमल गिरी (बेल्जियम), लतिका जोशी (भारत), जीवित खड्कामगर (खाडी मुलुक), सयपत्री थुलुङ (जापान), कमल पौड्याल (हङकङ), शिवराज भट्टराई (भुटान), लेखनाथ काफ्ले (ताईवान), गोविन्द गिरि प्रेरणा (अमेरिका), वाई बि गुरुङ (पोर्तुगल), कृष्णप्रकाश श्रेष्ठ (रसिया), निरज क्षेत्री (अष्ट्रेलिया), सुनिता राई कदंगवा (इजरायल), जानुका काम्वाङ लिम्बू (बेलायत), कमला रिसाल (नेपाल) छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू