शुक्रबार, चैत १६, २०८०
00:59 | ०६:४४

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने २० हजार नाघे

नेपाली लिङ्क अप्रिल २५, २०२०

लन्डन । बेलायतमा कोरोना भाइरसको (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ बाट शनिबार जारी तथ्यांकले हालसम्म बेलायतका अस्पतालमा मात्रै २० हजार ३ सय १९ कोरोना संक्रमितको मृत्यु भइसकेको देखाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप ८ सय १३ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाको कारण पहिलो मृत्यु ‘रेकर्ड’ भएको ५१ दिनमा कुल मृत्यु संख्या २० हजार नाघेको हो ।

कोरोनाको संक्रमणबाट ‘केयर होम’ तथा अन्य ‘प्राइभेट रेसिडेन्स’मा समेत अन्य हजारौंको मृत्यु भएको अनुमान छ ।

गत महिना बेलायत सरकारका प्रमुख ‘साइन्टिफिक’ सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजारमा सिमित गर्न सकिए ठूलो उपलब्धि हुने बताएका थिए ।

शनिबार सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’लाई सम्बोधन गर्दै बेलायतकी गृहमन्त्री प्रीति पटेलले कोरोनाका कारण भएका मृत्युहरुको संख्यालाई ‘वियोगान्त’ भनेर टिप्पणी गरिन् ।

बेलायत अझै पनि कोरोना महामारीको उत्कर्षबाट पार भइनसकेको बताउँदै उनले सरकारले जारी गरेको ‘सोसल डिस्टेन्सिङ’को उपाय अवलम्बन गरिराख्न अपिल गरिन् ।

यसैबीच, अहिलेसम्म बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको छ । गएको २४ घन्टामा मात्रै ४ हजार ९ सय १३ जना थप संक्रमित भएका छन् ।

बेलायतमा कोरोनाको संक्रमणबाट ३३ जना नेपालीको पनि मृत्यु भएको पुष्टी भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू