बेलायतमा अत्यधिक गर्मी, रेल सेवा र विद्यालयहरू बन्द


लण्डन। बेलायत अहिले अत्यधिक गर्मी (हिट वेभ) को चपेटामा परेको छ । मौसमविद्हरूले तापक्रम अझै बढ्ने बताएसगै जनजीवन थप प्रभावित हुने देखिएको छ ।
बेलायतको मौसम विभागले आजको तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्न सक्ने चेतावनी दिएको छ । विशेषगरी इंग्ल्याण्डको दक्षिणी क्षेत्रका लागि हिट हेल्थ अलर्ट जारी गरिएको छ ।
बेलायतभरि तापक्रम बढ्दै गएपछि इङ्गल्याण्ड र वेल्सका १,००० भन्दा बढी विद्यालय बन्द वा चाँडै बन्द गरिएका छन्।
दि नेशनल रेलले यात्रुहरूलाई अत्यन्तै आवश्यक नभएसम्म ‘रेड अलर्ट’ चेतावनी क्षेत्रमा यात्रा नगर्न भनेको छ।
मेट अफिसले अत्यधिक गर्मीबाट प्रभावित हुन सक्ने दैनिक गतिविधि मध्ये रेल यात्रा पनि समावेश गरेको छ।
गर्मीका कारण धेरै रेल सञ्चालकहरूले आफ्नो सेवा परिवर्तन गरेका छन्, साथै छोटो सूचनामा बन्द वा परिवर्तनहरू हुन सक्ने चेतावनी पनि दिइएको छ।
मेट अफिसले सन् १९७६ मा ह्याम्पशायरमा मापन गरिएको जुन महिनाको अहिलेसम्मकै उच्च तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियसको रेकर्ड यसै साता तोडिन सक्ने जनाएको छ ।
साथै, सन् १९७६ मै कायम भएको जुन महिनाको सबैभन्दा उच्च न्यूनतम तापक्रम २२ दशमलव ७ डिग्री सेल्सियसको रेकर्ड पनि यसपटक भंग हुने अनुमान छ ।
दिउँसो मात्र होइन, रातिको तापक्रम पनि सामान्यभन्दा धेरै माथि रहने भएकाले मानिसहरूलाई आराम गर्नसमेत कठिन हुन सक्ने बताइएको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई बढी सावधानी अपनाउन आग्रह गरिएको छ ।

स्वास्थ्य अधिकारीहरूले प्रशस्त पानी पिउन, सकेसम्म हल्का कपडा लगाउन, दिउँसोको चर्को घाममा लामो समय नबस्न र घरभित्र चिसो वातावरणमा बस्न सुझाव दिएका छन् । यदि अत्यधिक टाउको दुख्ने, रिंगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने वा शरीर अत्यधिक तातो हुने समस्या देखिए तुरुन्त स्वास्थ्य सेवा लिन पनि आग्रह गरिएको छ ।
बेलायत मात्र होइन, युरोपका अन्य देशहरू पनि अहिले चरम गर्मीको सामना गरिरहेका छन् । स्पेन, फ्रान्स, इटाली र ग्रीसमा तापक्रम लगातार बढिरहेको छ । फ्रान्समा मात्रै हिट वेभका बीच पौडी खेल्ने क्रममा कम्तीमा ४० जनाको डुबेर मृत्यु भएको छ ।
अत्यधिक गर्मीका कारण स्वास्थ्य जोखिम बढ्नुका साथै डढेलो, पानीको अभाव र आपतकालीन सेवामाथि दबाब बढ्दै गएको बताइएको छ ।
विशेषज्ञहरूले यस्तो असामान्य गर्मीलाई जलवायु परिवर्तनसँग जोडिरहेका छन् । पछिल्ला वर्षहरूमा युरोपभर हिट वेभको अवधि लामो हुने र तापक्रम नयाँ रेकर्डतर्फ जाने क्रम बढ्दो छ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


