भेनेजुएलामा केही दशकयताकै सबैभन्दा विनाशकारी भूकम्प, ठूलो जनधनको क्षति


काराकास, असार ११ गते । भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रका भवनहरूमा क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उच्च मानवीय क्षति र व्यापक विनाशको सम्भावना रहेको जनाएको छ।
रोयटर्सका अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु काराकासबाट करिब १६० किलोमिटर पश्चिममा रहेको बताइएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक मूल्याङ्कनअनुसार १० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ४४ प्रतिशत र एक लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ३० प्रतिशत छ। यद्यपि समाचार तयार पार्दासम्म मृतक तथा घाइतेको आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।
भूकम्पका कारण काराकासका धेरै भवनमा क्षति पुगेको, केही संरचना पूर्ण रूपमा भत्किएको तथा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको रोयटर्सले जनाएको छ। अस्पतालहरूलाई आपत्कालीन अवस्थामा राखिएको छ भने अधिकारीहरूले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
यस भूकम्पलाई भेनेजुएलामा पछिल्ला केही दशकयताकै सबैभन्दा विनाशकारी भूकम्पमध्ये एक मानिएको छ।
आपतकालीन अवस्था घोषणा
भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले राजधानीमा दुईवटा भूकम्प गएपछि आपतकालीन अवस्था घोषणा गरेकी छिन्।
राष्ट्रिय सभाका प्रमुख उनका भाइ जर्ज र आन्तरिक मन्त्री डिओस्डाडो काबेलोसँगै सरकारी टेलिभिजनमा देखा पर्दै उनले मृत्यु भएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेकी छिन्।
तर उनले मृत्यु वा घाइतेको संख्याको कुनै तथ्याङ्क दिइनन्।
उनले कराकस नजिकैको मैक्वेटियामा रहेको साइमन बोलिभर विमानस्थल क्षतिका कारण बन्द रहेको पनि बताइन्।
अमेरिका मद्दत गर्न तयार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई विनाशकारी भूकम्पबारे पोष्ट गर्दै उनको सरकार मद्दत गर्न तयार, इच्छुक र सक्षम रहेको बताएका छन् । उनले आफूहरुसँग अझै पनि मारिएका वा घाइते भएकाहरूको संख्याको कुनै आधिकारिक तथ्याङ्क नभएको उल्लेख गर्दै यो निकै ‘विनाशकारी’ भएको बताएका छन् ।
गत जनवरीमा अमेरिकी सेनाले राजधानीमा घातक आक्रमण गरी देशका तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई कब्जा गरेको केही महिनापछि भूकम्प आएको हो।
डोनाल्ड ट्रम्प प्रशासनले त्यसबेलादेखि मादुरोका पूर्व सहयोगी डेल्सी रोड्रिगेजको नेतृत्वमा रहेको अन्तरिम सरकारसँग सहकार्य गरिरहेको छ।
यसमा अमेरिकाले भेनेजुएलाको तेल बेच्ने सम्झौता समावेश थियो जसले अमेरिकी लगानीलाई प्रोत्साहन गर्न प्रतिबन्ध छुट जारी गरेको छ।
भूकम्पपछि काराकासस्थित अमेरिकी दूतावासले सबै अमेरिकी कर्मचारीहरूलाई जिम्मेवारी दिइएको जनाएको छ।
न्यूज एजेन्सीको सहयोगमा
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


