बिहीबार, वैशाख १३, २०८१
03:02 | ०७:४७

परीक्षणको क्षमता र पहुँच बढाउँदै बेलायत

'कि वर्कर' र परिवारलाई परीक्षणको व्यवस्था

नेपाली लिङ्क अप्रिल २३, २०२०

विहीबारको दैनिक ‘कोरोना ब्रिफिङ’मा स्वास्थ्यमन्त्री म्याट ह्यानकक

लण्डन । बेलायतले कोरोना भाइरस संक्रमणको परीक्षणमा आफ्नो क्षमता र पहुँच दुवै बढाइएको दाबी गरेको छ ।

सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले अत्यावश्यक सेवामा कार्यरत सम्पूर्ण ‘कि वर्कर’ र उनीहरुका परिवारका सदस्यलाई आवश्यकताअनुसार परीक्षणको व्यवस्था मिलाइने घोषणा गरे ।

विहीबारको दैनिक ‘कोरोना ब्रिफिङ’लाई सम्बोधन गर्दै उनले भने, ‘परीक्षणको प्रक्रिया अब पहिलाभन्दा सरल र चाँडो हुने प्रबन्ध मिलाइएको छ ।’

शुक्रबारदेखि ‘एनएचएस’सहित अन्य अत्यावश्यक सेवामा कार्यरत स्टाफ र तीनका परिवारले अनलाइनमार्फत बुक गरेर परीक्षण गराउन सक्ने मन्त्री ह्यानककले बताए ।

अप्रिल अन्त्यसम्ममा दैनिक १ लाख परीक्षण गर्न सक्ने क्षमता बनाउने सरकारको लक्ष्य पूरा हुने दाबी गर्दै उनले थपे, ‘हामी हाम्रो लक्ष्यभन्दा पनि अझै अघि छौं । दैनिक ५१ हजारको परीक्षण क्षमता हामीले अहिले नै हासिल गरिसकेका छौं ।’

साथै, संक्रमितहरुसंग सम्पर्कमा आएकाहरुलाई पछ्याउने कार्यलाई समेत तीव्रता दिन लागिएको मन्त्री ह्यानककले बताए । जसका लागि १८ हजार जना परिचालन गरिने योजना उनले सुनाए ।

परीक्षणका लागि ‘होम टेस्ट किट’ र ‘मोबाइल एप’ समेत ‘लञ्च’ गर्न लागिएको जानकारी मन्त्री ह्यानककले गराए ।

बेलायतमा मृतक १८ हजार ७ सय ३८

यसैबीच, बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ ।

गएको २४ घन्टामा कोरोनाको संक्रमणबाट बेलायतको अस्पतालमा थप ६ सय ३८ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।

मृत्यु हुनेको संख्या अघिल्लो दिनको तुलनामा आज केहि कम भएको हो ।

बेलायतमा अहिलेसम्म्म १ लाख ३८ हजार ७८ जनामा संक्रमण भेटिएको छ । पछिल्लो २४ घन्टामा मात्रै ४ हजार ५ सय ८३ संक्रमित थपिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू