बिहीबार, वैशाख १३, २०८१
09:02 | १३:४७

बेलायती प्रधानमन्त्री जोन्सनको स्वास्थ्यमा सुधार हुँदै

नेपाली लिङ्क अप्रिल ८, २०२०

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि आइसियूमा छन् ।

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ । गत सोमबारदेखि लण्डनस्थित एक अस्पतालको ‘आइसियू’मा राखिएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको जानकारी अर्थमन्त्री ऋषि सुनाकले गराएका हुन् ।

बुधबार अपरान्ह बेलायत सरकारको दैनिक कोरोना ब्रिफिङलाई सम्बोधन गदै मन्त्री सुनाकले भने, ‘प्रधानमन्त्रीको स्वास्थ सुधार भइरहेको छ । आफूलाई दिइएको उपचारप्रति उहाँले सकारात्मक रेस्पोन्स गरिरहनुभएको छ ।’

प्रधानमन्त्री बेडमा बस्ने र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुसंग सकारात्मक ढंगले ‘इंगेज’ गर्ने गरेको पनि उनले सुनाए ।

यसअघि, प्रधानमन्त्री जोन्सनका प्रवक्ताले पनि बुधबार दिउँसो प्रधानमन्त्रीको अवस्था स्थीर रहेको र अस्पतालले उनलाई अझै ‘क्रिटिकल केयर’ प्रदान गरिरहेको जानकारी गराएका थिए ।

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थीर छ र उहाँलाई दिइरहेको उपचारले काम गरिरहेको छ । उहाँ अझै पनि ‘इन्टेन्सिभ केयर युनिट’ (आइसियू) मै हुनुहन्छ’, प्रधानमन्त्रीका प्रवक्ताले भनेका छन् ।

प्रधानमन्त्रीलाई अक्सिजनको ‘स्ट्याण्डर्ड’ सहयोग दिइएको तर उनले अरु कुनै सहायताबिना नै श्वासप्रश्वास गरिरहेको बताइएको छ ।

यसअघि, गत मार्च २७ तारिखमा कोरोना भाइरसको संक्रमण पुष्टी भएका प्रधानमन्त्री जोन्सन ज्वरो, खोकी लगायतका लक्षणहरु कायम रहेपछि आइतबार लण्डनको सेन्ट थोमस अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप कमजोर बनेपछि सोमबारदेखि उनलाई आइसियूमा राखिएको छ ।

कोरोना संक्रमण पुष्टी भएर आइसोलेसनमै बस्दा पनि नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री जोन्सनले अहिले भने आफ्नो जिम्मेवारी परराष्ट्रमन्त्री डोमिनिक रबलाई दिएका छन् ।

प्रधानमन्त्री जोन्सनको स्वास्थ्यलाभको कामना गर्दै विश्वका नेताहरुले उनलाई सन्देशहरु पठाएका छन् । बेलायती महारानीले पनि प्रधानमन्त्रीको स्वास्थ्यबारे नियमित ‘अपडेट’ लिइरहेकी छन् ।

महारानी र राजपरिवारका अन्य सदस्यले जोन्सनकी प्रेमिका क्यारी साइमन्ड्सलाई सन्देश पठाएर सहानुभूति समेत प्रकट गरेका छन् । प्रधानमन्त्रीकी गर्भवती प्रेमिका क्यारी पनि कोरोना संक्रमणका लक्षण देखिएका कारण अहिले ‘आइसोलेसन’ मै छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू