मंगलबार, वैशाख ११, २०८१
18:49 | २३:३४

न्यूयोर्कका कोरोना संक्रमित भिडियोग्राफर डिस्चार्ज

नेपाली लिङ्क मार्च ३०, २०२०

डिस्चार्जपछि शम्भु मोक्तान

न्यूयोर्क । कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका न्यूयोर्कका चर्चित भिडियोग्राफर शम्भु मोक्तानको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

सोमबारदेखि लङ आइल्याण्डमा रहेको जुइस अस्पतालमा उपचार भइरहेकोमा आइतबार घरमै आराम गर्नका लागि डिस्चार्ज गरिएको हो ।

‘कोरोना संक्रमण भएपछि धेरैजना आत्तिएर आफूलाई झन् कष्टमा पारेको देखिन्छ । तर आत्तिएर नभई संयम भएर उपचार गरेमा कोरोनासँग जुध्न सकिने रहेछ’- श्रीमति नन्दु मोक्तानले भनिन्- ‘घर आइसकेपछि उहाँले चिकेन सुप पिउनुभयो । तातो चिया पिउनुभयो । कमजोर भएपनि स्वास्थ्यमा विस्तारै सुधार भएको छ ।’

सोमबार अस्पतालमा भर्ना भएका उनीमा बुधबार कोरोना संक्रमण पुष्टी भएको थियो । अहिले स्वास्थ्यमा सुधार आएको तर अलिकति कमजोर अनुभव भएकाले प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा दिइएको छ ।

कोरोना संक्रमित मोक्तानले अमेरिकामा रहेका नेपालीहरु लगायत सबैलाई कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई बचाउन घरभित्रै बस्न र सामाजिक दुरी कायम गर्न आव्हान गरेका छन् । उनले कोरोना संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन समेत अनुरोध गरेका छन् ।

उनले समुदायलाई सन्देश दिदै भने- ‘यदि तपाईमा लक्षण देखिएको छ भने अरुलाई संक्रमण हुन नदिन कृपया घरमै बस्नुहोला । यदि तपाईमा लक्षण देखिएको छैन भने पनि अरुबाट आफूमा संक्रमण हुन नदिन घरमै बस्नुहोला ।’

प्रचारमा आएजस्तो कोरोनाको कुनै पनि लक्षण आफूमा नदेखिएको उनले जानकारी दिए । आफूमा देखिएको लक्षण र बाहिर भनिएको लक्षण एउटा पनि नमिलेको उनको भनाई छ । उनले भने- ‘मलाई पाखुरा र टाउकोमा सोला हानेजस्तो भएको थियो । पहिले पनि यस्तो हुन्थ्यो । अनि पेनकिलर खाएपछि निको हुन्थ्यो ।’

‘तर यसपटक निको भएन । तीनचार घण्टापछि फेरि दुख्न थाल्थ्यो । यसरी एक सातासम्म पनि दुखेपछि निको हुनुको साटो झन् स्वास फेर्न गाह्रो हुन थालेपछि अस्पतालमा इमर्जेन्सी रुममा भर्ना भएँ । सबै टेस्टहरु गरेपछि कोरोना पनि टेस्ट गर्दा पोजेटिभ भएको रिपोर्ट आयो’- उनले जानकारी दिए ।

न्यूयोर्कको ज्याक्सनहाइटमा मोक्तान डिजिटल संचालन गरिरहेका मोक्तान चर्चित भिडियोग्राफर हुन् । उनले कैयन म्यूजिक भिडियो र चलचित्र समेत खिचेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू