आइतबार, २६ जुलाइ, २०२६
23:24 | ०४:०९

यूकेमा पूर्व मुख्यमन्त्री राईको स्वीकारोक्तिः सरकारमा छंदा धेरै मुद्दा सम्बोधन गर्न सकिएन

नेपाली लिङ्क जुलाइ २६, २०२६

लन्डन । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले सचिव शेरधन राईले आफूहरू सरकारमा रहंदा विशेषगरी पूर्व गोर्खाहरुका समस्या र गैरआवासीय नेपाली नागरिकता लगायत जायज मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती भएको स्वीकार गरेका छन् ।

प्रवासी नेपाली मञ्च यूके, साउथ वेष्ट कमिटीद्वारा आइतबार फ्लिट ह्यामसायरमा आयोजित आफ्नो सम्मान, स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता राईले यस्तो आत्मसमीक्षा गरेका हुन् । उनी ब्यक्तिगत कामको सिलसिलामा विगत दुई हप्तादेखि बेलायत भ्रमणमा छन् ।

मञ्चको साउथ वेष्ट कमिटीका अध्यक्ष प्रमिश शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राईले भने, ‘विगतमा हामी सरकारमा रहँदा गोर्खाहरूको जायज माग र नागरिकता, मताधिकार जस्ता प्रवासीहरुको साझा विषयमा ठोस निर्णय लिनुपर्ने थियो, तर विभिन्न कारणले त्यसलाई सम्बोधन गर्न सकिएन । सरकारमा हुँदा पनि यो विषय टुङ्ग्याउन नसक्नु हाम्रो कमजोरी थियो, यसमा म गल्ती महशुस गर्दै पार्टीले अब स्पष्ट अवधारणासहित ठोस रुपमा यि विषयहरुमा काम गर्नेछ ।’

कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष रामशरण सिम्खडाले प्रवासमा रहेका नेपालीहरूको समस्या र नेपाल सरकारबाट अपेक्षित सहयोगबारे धारणा राखेका थिए । उनले एनआरएन लगायतले लामो समयदेखि पैरबी गर्दै आएको नागरिकताको निरन्तरता, आगामी 
संविधान संशोधनमा वंशजको नागरिकता कायम राख्न तथा प्रवासीका विविध विषयमा नेता राईको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै, मञ्च अन्तर्राष्ट्रिय कमिटीकी केन्द्रीय सदस्य यूके इन्चार्ज सरस्वती केसी, मञ्च यूकेका अध्यक्ष पशुपति पोखरेल, पूर्व अध्यक्षद्वय दिनेश घिमिरे र सुरेन्द्र थपलिया, पूर्व उपाध्यक्ष कुमार केसी, वर्तमान उपाध्यक्षद्वय प्रतिमा केसी र लीलामान शेरपुन्जा, युवा नेता सरोज केसी, शम्भु अर्याल तथा सुशील क्षेत्रीले पनि समसामयिक राजनीतिक विषय र डायस्पोराका नेपालीले भोग्नुपरेका कठिनाइबारे बोलेका थिए ।

कार्यक्रमका वक्ताहरूले दोहोरो नागरिकताको सुनिश्चितता, गोर्खाहरूको समान अधिकार र समसामयिक राजनीतिक मुद्दाहरूमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू