ब्रिटिश गोर्खाको नागरिकता निरन्तरतासम्बन्धी संविधान संशोधन सुझाव प्रधानमन्त्रीसमक्ष


प्रधानमन्त्री वालेन्द्र शाह
लन्डन । ब्रिटिश गोर्खाहरूको वंशजको नेपाली नागरिकता निरन्तरताका लागि BGNCCC – UK/Nepal ले संविधान संशोधन बहस-पत्र कार्यदलमा बुझाएको संशोधन सुझाव कार्यदलले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेश गरेको खबरले सम्पूर्ण गोर्खा समुदायमा नयाँ आशा र उत्साह सञ्चार गरेको छ। BGNCCC – UK /Nepal ले यसलाई नागरिकता निरन्तरताको न्यायपूर्ण अभियानमा एक सकारात्मक र महत्त्वपूर्ण पहिलो कदमका रूपमा स्वागत गरेको छ।
यस ऐतिहासिक उपलब्धि हासिल गर्न अहोरात्र खट्नुहुने BGNCCC – UK/Nepal का महासचिव, अभियान निर्देशक, नेपाल च्याप्टरका संयोजक, कोषाध्यक्ष, कानुनी सल्लाहकार तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा जोडिनुभएका सम्पूर्ण व्यक्तित्वहरूका साथै संविधान संशोधन बहस-पत्र कार्यदलप्रति BGNCCC – UK/Nepal हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ।
पहिलो चरणको सफलता मिलेपनि हाम्रो मूल गन्तव्य अझै बाँकी छ। नागरिकता निरन्तरताको यो मुद्दालाई व्यवस्थापिका संसद् (प्रतिनिधि सभा / राष्ट्रिय सभा) सम्म पुर्याई सर्वसम्मत रूपमा संविधान संशोधन प्रस्ताव पारित गराउनु अबको मुख्य चुनौती र जिम्मेवारी हो।

लेखक सन्तोष थलङ
लक्ष्य प्राप्तिका लागि हाम्रा मुख्य रणनीतिहरू:
स्रोत-साधनहरूको अधिकतम परिचालन: थप प्रभावकारी रणनीति र सम्भाव्य सम्पूर्ण स्रोत-साधनहरूको अधिकतम परिचालन गरिनेछ।
राजनीतिक सहमति: संसद्मा रहेका सम्पूर्ण राजनीतिक दलहरूसँग सघन संवाद गरी संशोधनको पक्षमा सर्वसम्मत वातावरण बनाउन पहल गरिनेछ।
हाम्रा पूर्वजहरूले आफ्नो रगत र पसिनाले रचेको स्वाभिमानका साथै हामी र हाम्रा भावी सन्ततिहरूको नेपाली राष्ट्रियता एवं पहिचान सुरक्षित गर्ने यो एउटा ऐतिहासिक अवसर हो।
तसर्थ, BGNCCC – UK/Nepal सम्पूर्ण गोर्खा समुदाय, गोर्खा सन्ततिहरू तथा विभिन्न गोर्खाजन्य संघसंस्थाहरूलाई आफ्ना सानातिना व्यक्तिगत वा संस्थागत मतभेद र स्वार्थहरू त्यागेर एउटै साझा मञ्चमा गोलबद्ध हुन हार्दिक आह्वान गर्दछ।
आउनुहोस् BGNCCC सँग आबद्ध भई आफ्नो तन, मन, धन र वचनले यस पवित्र अभियानमा पूर्ण योगदान पुर्याऔँ र हाम्रा सन्ततिहरूको नेपाली पहिचान सधैँका लागि सुरक्षित गरौँ ।
–सन्तोष थलङ
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


