शुक्रबार, वैशाख ७, २०८१
14:26 | १९:११

कोरोनाका कारण गोर्खाकप पछि सार्ने निर्णय

स्थितिमा सुधार आएपछि नयाँ मिति घोषणा हुने

ध्रुवराज अर्याल मार्च २९, २०२०

फाइल तस्विर

लण्डन । कोरोना भाइरसका कारण निम्तिएको महामारीले बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो इभेन्ट पनि प्रभावित भएको छ ।

तमुधिं यूकेको आयोजनामा आउँदो मे महिनाको २४ तारिख आइतबारका लागि निर्धारित १८ औं ‘गोर्खाकप’ पछि सर्ने भएको छ ।

भिडियो कन्फरेन्समार्फत सम्पन्न तमुधिं यूके बैठकले कोरोना संकटका कारण उत्पन्न असहजताका कारण गोर्खाकप यसअघिको तोकिएको मितिमा स्थगित गर्ने निर्णय गरेको हो ।

तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ र महासचिव तुलाराम गुरुङले एक वक्तत्व जारी गर्दै स्थितिमा सुधार आएसंगै गोर्खाकपकै लागि नयाँ मिति घोषणा गरिने जानकारी गराएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण अन्तर्राष्ट्रिय स्तरमै फैलिएको त्रासदीपूर्ण वातावरणलाई मध्यनजर गर्दै गोर्खाकप स्थगनको निर्णय गरिएको तमुधिं युकेले बताएको छ । आम समुदाय, खेलप्रेमी, खेलाडी तथा शुभेच्छुकहरुको चाहनाविपरित खेल स्थगनको निर्णय गर्नुपरेकोमा संस्थाले दुःख समेत व्यक्त गरेको छ ।

कोरोना प्रकोप नियन्त्रण गर्ने प्रयासमा बेलायत सरकारले जारी गरेको लकडाउन, दुई भन्दा बढिको समूहमा भेला हुन रोक लगायतको अवस्थामा गोर्खाकप सञ्चालन गर्न नसकिएको तमुधिंको भनाइ छ ।

विषम परिस्थितिमा देश तथा विदेशका सरकार, समुदाय, संघसंस्था, स्वास्थ्यकर्मी तथा स्वयमसेवीहरुले चलाएको कोरोनाविरुद्धको अभियानमा तमुधिं यूकेले पनि ऐक्यबद्धतासहित आफ्नो तर्फबाट सक्दो सहयोगको प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू