बैंककमा जुर्यो प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीको भेट


काठमाडौँ, चैत २२ — प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच पूर्वनिर्धारित तालिकाअनुसार भेटवार्ता भएको हो।
थाइल्यान्डको बैंककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो।
भेटवार्तापछि ट्वीट (एक्स) मा लेख्दै ओलीले भेटवार्ता सार्थक र सकारात्मक भएको बताएका छन्। मोदीसँग आत्मीय र सौहार्दपूर्ण भेट भएको ओलीको भनाइ छ। ओलीले आत्मीय भेटवार्ताप्रति खुसी पनि व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले एक्समा लेखेका छन्, ‘मेरा प्रिय मित्र, प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो। हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो। यस आत्मीय भेटवार्ताप्रति म खुसी व्यक्त गर्दछु ।’

उता, भारतका प्रधानमन्त्री मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको बताएका छन्। भेटपछि मोदीले सामाजिक सञ्जाल ट्वीटर (एक्स) मा लेखेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको छ।’
भेटमा मोदीले नेपाल र भारतको मित्रताका विभिन्न पक्षमा कुराकानी भएको प्रष्ट पारेका छन्।
मोदीले थप लेखेका छन्, ‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं ।’
मोदीले बिमस्टेक शिखर सम्मेलनबाट केही सकारात्मक परिणाम प्राप्त भएको पनि उल्लेख गरेका छन् । ‘हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणाम विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं’- मोदीले अगाडि लेखेका छन् ।


