म्यानमारमा ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पबाट मर्नेको संख्या १४४



मन्डलेमा भूकम्पपछि ढलेको भवन । तस्विर- एएफपी
म्यानमार, चैत १५ — म्यानमारमा शुक्रबार दिउँसो ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प जांदा व्यापक जनधनको क्षति भएको छ । म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या हालसम्म १४४ पुगेको छ भने कम्तीमा ७३७ जना घाइते भएको सेनाले बताएको छ । भूकम्पको झट्का थाइल्याण्ड, भारत, चीनलगायत छिमेकी देशहरूमा पनि महसुस गरिएको छ ।
सत्तारूढ सैन्य जनरल मिन आङ ह्लाइङले मृत्यु संख्या अझ बढ्ने चेतावनी दिएका छन्। उद्धार स्वयंसेवकहरूले बीबीसीलाई भनेअनुसार उनीहरूले भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकालिरहेका छन् ।
सहायताकर्मीहरूले उद्दारका लागि मानिससम्म पुग्न कयौं चुनौती सामना गरेका छन् । डक्टर्स विदाउट बोर्डर्सले बढी प्रभावित क्षेत्रहरूमा उल्लेखनीय सञ्चार सम्पर्क हुन नसकेको जनाएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार, थाइल्याण्डमा एउटा निर्माणाधिन गगनचुम्बी भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने लगभग १०० जना अझै बेपत्ता छन्।
उद्धारकर्मीहरूले ड्रोन र स्निफर कुकुरहरूको सहयोग लिएर बेपत्ताको खोजी कार्य जारी राखेका छन् ।
अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूले म्यानमारमा केन्द्रविन्दु भएको यो मध्याह्नको कम्पन १० किलोमिटर गहिरो भएको बताएका छन् ।
स्थानीय समय अनुसार दिउँसो १ः३० बजे भूकम्प गएको हो । भूकम्प यति शक्तिशाली थियो कि केही अग्लो उचाइमा भूकम्पले हल्लाउँदा तालबाट पानी बाहिर निस्किएको थियो ।
भूकम्पको केन्द्रबिन्दु मध्य म्यानमारको मोन्याउ सहरबाट करिब ५० किलोमिटर पूर्वमा थियो । म्यानमारको ‘म्यानमार नाउ’ का अनुसार, मन्डलेको ऐतिहासिक मन्डले दरबारको केही भाग गम्भीररूपमा क्षतिग्रस्त भएको छ। उही समयमा सागाइङ क्षेत्रको सागाइङ टाउनसिपमा रहेको एउटा पुल पूर्णरूपमा ध्वस्त भएको छ। नजिकैका अन्य शहर जस्तै क्याउक्से, प्यिन ओओ ल्विन र श्वेबोमा पनि भूकम्पबाट क्षति पुगेको छ ।
गृहयुद्धको चपेटामा रहेको म्यानमार भूकम्पबाट थप प्रभावित भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



