लन्डनमा ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस



लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले लन्डनमा ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।
पुष २७ कै दिन स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र निर्माण गर्ने राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाइएको हो ।
उक्त कार्यक्रम प्रमुख अतिथी बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी र संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले संयुक्त रुपमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
कार्यक्रमका सहभागीले पालैपालो पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण समेत गरे ।
मन्तव्यका क्रममा प्रमुख अतिथी कार्यवाहक राजदूत दुवाडीले प्रवासमा पनि शाहलाई सम्झिनु उनीप्रति श्रद्धासुमन भएको बताए । आफू गोरखाली भएको र गोरखाको इतिहास राष्ट्रिय इतिहाससंग जोडिनु पृथ्वी नारायणकै देन भएको उनको भनाइ थियो ।
दुवाडीले शाहका दिव्यपदेश अहिले पनि कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । नेपाली भएर हाम्रो पहिचान र परिचय दिन सम्पूर्ण आधार तय गरिदिने पृथ्वी शाह नै भएको र उनका वाणी अनुशरण गर्न सबैलाई आग्रह गरे ।
विशेष अतिथी रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर जीत रानाभाटले पृथ्वी शाहका दिव्योपदेश र रणनीति केवल त्यतिबेला युद्ध र सैनिक रणनीतिमा मात्र आधारित नभएर अहिले पनि सान्दर्भिक एवं कालजयी रहेका बताए ।
अतिथी राजनीतिक विश्लेषक युवा नेता शंकर तिवारीले पृथ्वी नारायण शाहलाई आफैं लडाईंमा होमिने फ्रेन्च शासक नेपोलियन बोनापार्टसंग तुलना गर्दै उनी युगान्तकारी र भिजनरी व्यक्तित्व भएको बताए । शाहले नेपाल एकीकरण कसरी गरे भन्नेबारे ऐतिहासिक पाटो समेत प्रकाश पारेका थिए ।
इतिहासमा जहिले वादविवाद हुने तर तर्क प्रमाणका आधारमा हुनुपर्ने जनाउंदै उनले शाहको योगदान भुलेर नकारात्मक विश्लेषण गर्न नहुने धारणा राखे । देश बनाउने महानायक शाह बुद्धपछि दोश्रो नायक भएको पनि उनले बताए ।
अर्का अतिथी गोर्खाली बुद्धिजिवी विकलचन्द्र आचार्यले गोरखा जिल्लाको पुरानो इतिहासको विस्तृत वर्णन गर्दै पृथ्वीनारायण शाहको सवल नेतृत्वबारे प्रकाश पारे । त्यस कालखण्डको चर्चा गर्दै आचार्यले पृथ्वीनारायणको बहुआयामिक पक्षबारे सही तथ्य बुझ्न र जान्न जरुरी भएको समेत बताए ।
उच्च शिक्षा अध्ययनका लागि हाल बेलायत रहेका भ्रष्टाचार विरोधी सडक संघर्ष संयुक्त नागरिक आन्दोलनका युवा अभियन्ता एवं राष्ट्रिय कराते खेलाडी विप्लव खड्काले पृथ्वी नारायण शाहको भ्रष्टाचार विरोधी नारा अहिले व्यवहारमा समेत लागू गरिनुपर्नेमा जोड दिए ।
‘उनको दिव्योपदेश क्याप्सन राख्नका लागि मात्र होइन्’, उनले थपे, ‘अहिले नेपाल भ्रष्टाचारको दलदलमा फसिरहंदा अब पृथ्वी नारायणको उपदेशलाई सार्थक हुने गरि कार्यान्वयन गरिनुपर्छ । भ्रष्टाचारविरुद्ध युवाहरु सधैं चुप लागेर बस्ने समय छैन् ।’
भ्रष्टाचार र राष्ट्रघाती सम्झौताविरुद्ध जनताको आवाज उठाउंदा राज्यले आफूलाई दर्जनौं पटक गिरफ्तार गरि काराकार समेत चलान गरेको उल्लेख गर्दै खड्काले जति चुनौति आएपनि सदैव मातृभूमिप्रति बफादार भइ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका सभापति संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत रोका क्षेत्रीले सहभागी र सहयोगी सबैप्रति धन्यवाद दिंदै चौंथो पृथ्वी पुरस्कार बर्दिया गुलरियाका स्वतन्त्र सामाजिक अभियन्ता कमलराज पौडेललाई दिइएको घोषणा गरे ।
अध्यक्ष क्षेत्रीले एकजना कुनै पनि पार्टीमा आवद्ध नभएको स्वतन्त्र बुद्धिजिवी साथै पृथ्वी नारायण शाहका बारेमा गहिरो दख्खल राक्ने व्यक्तिलाई एक लाख रुपैयांको पुरस्कार दिने गरिएको बताए । ३०० औं पृथ्वी जयन्तीबाट शुरु गरिएको पुरस्कार पहिलोपटक राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसीलाई, दोश्रो पुरस्कार राजनीति विश्लेषक डा. राजेश अहिराज र तेश्रो पुरस्कार पर्यटन व्यवसायी एवं समाजसेवी भरत बस्नेतलाई प्रदान गरिएको थियो ।
शाहका महान वाणी र अर्ती उपदेश अहिले पनि समाजले पालना गर्नुपर्ने नत्र देश विखण्डनमा जाने क्षेत्रीले बताए । अध्यक्ष क्षेत्रीले शाह हरेक नेपालीलाई एकतावद्ध गरेर देशलाई एकसूत्रमा बांध्ने नायक भएको स्मरण गरे ।
दूतावासमै पृथ्वी जयन्ती मनाउने वातावरण मिलाइदिन पनि उनले कार्यवहाक राजदूतसमक्ष आग्रह गरे । शाहका कृतिलाई सरकारले सही रुपमा अलवम्बन गर्नुपर्ने जनाउंदै क्षेत्रीले स्कुल-कलेजका पाठ्यपुस्तकमा समेत पृथ्वी नारायण शाहलाई समेट्न अनुरोध गरे ।
कार्यक्रममा अभियन्ता हेमन्त पौडेलले स्वागत मन्तव्य दिएका थिए । उनले विभाजित नेपाली मन र समाज केन्द्रित एउटा विवेचना समेत वाचन गरे ।
कार्यक्रममा राष्ट्रवादी विचारक पदम रावल, संस्थापक संयोजक सुनिलजंग शाह, यती नेपाली एसोसिएसन यूके पूर्व अध्यक्ष चिरन्जिवी ढकाल, गोर्खाली समाज यूकेका पूर्व अध्यक्ष खुशीमान गुरुङ, लन्डन हन्स्लो बरोका पूर्व मेयर तथा हाल काउन्सिलर विष्णु गुरुङ, एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङ, कृष्णविक्रम शाही, सन्जिव घिमिरे, राप्रपा हङकङका प्रवक्ता मोती चाम्लिङ लगायतले मन्तव्य दिएका थिए ।
गोर्खाली समाज यूकेका पूर्व अध्यक्ष खुशीमान गुरुङले पृथ्वीनारायण शाहकालिन सैनिक पोशाक डिजाइन गरि नेपाली मेलामा झांकी गर्दा लगाउन गोर्खाली समाज यूकेलाई ३५ सेट पोशाक आफ्नै खर्चमा प्रदान गरेका थिए ।
वुद्धिजिवी चेतमान केसीले सञ्चालन गरेको सो कार्यक्रममा नेपाली साहित्य विकास परिषद यूकेका पूर्व अध्यक्ष हरिसिंह थापा र क्षेत्री समाज यूके आवद्ध विमला थापाले पृथ्वी नारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै कविता वाचन गरेका थिए ।
कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्णेल अनुप शाह, फस्ट सेक्रेटरी उद्व न्यौपाने, खगेन्द्र नेपाली, सुमन खरेल, उत्तम खड्का, किशोर पन्डित, ध्रुव केसी, मदन थापा, मिडियाकर्मी, बुद्धिजिवी लगायतको उपस्थिति थियो ।
स्मरण रहोस्, संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्रीले बेलायतमा विगत १७ वर्षदेखि एक्लो प्रयासमा पृथ्वी जयन्ती मनाउंदै आएका छन् । कार्यक्रममा क्षेत्रीबारे बनाइएको एक वृत्तचित्र समेत देखाइएको थियो । तस्विर- शिव भण्डारी
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५