बुधबार, १७ जुन, २०२६
16:58 | २१:४३

लन्डन परेडमा आकर्षण बन्यो नेपाली कला संस्कृति (फोटो फिचर)

नेपाली लिङ्क जनवरी १, २०२५

लन्डन । अंग्रेजी नयां वर्षको पहिलो दिन बुधबार सेन्ट्रल लन्डनमा आयोजित एक परेडमा नेपाली समुदायले उल्लेख्य सहभागिताबीच आफ्नो कला संस्कृति प्रस्तुत गरेको छ ।

बेलायतको प्रतिकुल मौसम बाबजुद उक्त लन्डन न्यू इयर परेडमा करिब १५० जना नेपाली आफ्नो जातीय मौलिक पोशाक र गरगहनामा सहभागी भए ।

रोयल बरो अफ ग्रीनवीचको आयोजना र मेयर जीत रानाभाटको नेतृत्वमा नेपाली समुदायले पहिलोपटक परेडमा भाग लिएको हो । परेडमा नेपाली समुदायको संयोजन भने समाजसेवी श्रीचन्द्र गुरुङले गरेका थिए ।

परेडमा नेपाली सांस्कृतिक विविधिता झल्काइएको मेयर जीत रानाभाटले जनाए । परेडमा नेपाली जातीय कला संस्कृति र भेषभूषा आकर्षणको केन्द्र बनेको उनले बताए ।

परेडमा पासा पुचः गुथि यूकेले धिमे, ढाः र खिंग बाजाका साथ गाइजात्रामा प्रस्तुत गरिने घिन्ताङ घिसी नाच, लाखे नाच देखाउंदै कुमारी यात्रा गरेको थियो । सुशील प्रजापतिको संयोजनमा गुथिको सहभागिता भएको हो ।

पानीले बाजा भिजेर शुरुमा केही असहज भएपनि बाद्यबादन र परम्परागत नाच देखाइएको प्रजापतिले जनाए । गुथिबाट सहभागी करिब ६० जना आफ्नो नेवारी भेषभूषामा पुगेका थिए ।

उता, गोविन्द सापकोटाको संयोजनमा नौमति पन्चे बाजा र साउथ इष्ट रिजनल तमुधिं लन्डनले सोरठी नाच देखाएको थियो । थकाली समाज यूके, डायमण्ड बुद्धिष्ट सेन्टर यूके, मगर समुदायले पनि आफ्नो कला संस्कृति देखाए ।

परेडमा मेयर रानाभाटको यो वर्षको च्यारिटी बाउल क्यान्सर यूके र कमनवेल्थ एण्ड गोर्खा गार्डेन प्रोजेक्टका लागि डोनेसन समेत आव्हान गरिएको थियो ।

उक्त परेड पिकाडेलीबाट रिजेन्ट्स स्ट्रीट, सेन्ट जेम्स्, पल मल, ट्राफलगर स्क्वायर हुंदै पार्लियामेन्ट स्क्वायर पुगेको थियो । परेडमा विभिन्न समुदायका ७० वटा समूहले प्रतिष्पर्धा गरेका थिए भने केही लन्डन बरोहरुले भाग लिएका थिए ।

तस्विर- याम गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू