बुधबार, १७ जुन, २०२६
16:58 | २१:४३

पत्रकार महासंघ बेलायतले तय गर्‍यो भावी कार्यक्रम

नेपाली लिङ्क जनवरी १, २०२५

लन्डन । नेपाल पत्रकार महासंघ बेलायतको तेश्रो पूर्ण बैठक गत २८ डिसेम्बर शनिबार लन्डन साउथ ह्यारोमा सम्पन्न भयो ।

शाखा अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्यहरु एवं केन्द्रीय समितिका पदाधिकारी र सल्लाहकारहरुको उपस्थिति थियो ।

बैठकले नयां कार्यसमितिको जिम्मेवारी यता भएका गतिविधिको समीक्षा गर्दै संस्थाको भावी कार्यक्रम तय गरेको छ ।

साथै, उक्त बैठकले नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनवाट निर्वाचित निर्मला शर्मा नेतृत्वको कार्यसमितिलाई औपचारिकरुपमा वधाई तथा शुभकामना दिने प्रस्ताव पारित गरेको छ ।

बैठकले हाल शाखाले समसामयिक विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसंगको गर्दै आएको मासिक संवाद श्रृंखलालाई निरन्तरता दिने, कोष अभिवृद्धिका लागि च्यारिटी डिनर गर्ने, प्रत्येक वर्ष जुलाई १० लाई शाखाको स्थापना दिवसका रुपमा मनाउने, स्थानीय समुदायसंग सहकार्य गरि उनीहरुका सुझाव सल्लाह लिन अन्तरसंवाद र नेपाल पत्रकार महासंघ नेपाल केन्द्रको वैदेशिक शाखाहरुप्रतिको दृष्टिकोणबारे एक अन्तरक्रिया गर्ने निर्णय गरेको छ । यस कार्यक्रममा सबै वैदेशिक शाखाको प्रतिनिधित्व गराइने भएको छ ।

यस अतिरिक्त शाखाले प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारको नियमावली परिमार्जन गर्न शाखा सल्लाहकारहरु नवीन पोखरेल, नरेश खपांगीमगर र ध्रुवराज अर्याल रहने गरि एक समिति गठन गरेको छ ।

बैठकका अवसरमा शाखाका पदाधिकारी, सदस्यहरु र सल्लाहकारहरुको अन्तर्राष्ट्रिय प्रेस कार्ड (आइएफजे कार्ड) समेत वितरण गरियो ।

अध्यक्ष विमला सेनेले शाखा सम्बन्धमा देखिएका सामान्य असन्तुष्टिप्रति भ्रममा नपर्न सबैमा आग्रह गरिन् । यस्ता असन्तुष्टि क्रमशः समाधान गर्दै अगाडि बढ्ने पनि उनले बताइन् ।

सो अवसरमा क्रिसमस र अंग्रेजी नयाँ वर्ष लगायत पर्वहरुको शुभकामना आदानप्रदान समेत भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू