बेलायतका पर्वतेलीले च्यारिटीमार्फत् जुटाए विपन्न बालबालिकालाई सहयोग



लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले जिल्लास्थित विपन्न वालवालिकाको पठनपाठन सहयोगार्थ एक च्यारिटी डिनर कार्यक्रम गरेको छ ।
अल्डरसटस्थित एम्पायर हलमा आइतबार आयोजित च्यारिटी डिनरमा पर्वते र गैर पर्वतेहरुको उल्लेख्य सहयोग रह्यो ।
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले भविष्यका कर्णधार बालबालिका, मातृभूमि र गृहजिल्लाको विकासमा सोसाइटीले उल्लेख्य भूमिका खेलेको जनाउंदै दूतावासबाट सधैं सदभाव र शुभेच्छा रहेको बताइन् ।
सल्लाहकार एवं एनआरएनए पूर्व अध्यक्ष कुल आचार्यले कुनै बेला आफू उपाध्यक्षसम्म भएको संस्थाले आफनो गाउंका लागि सहयोग गर्ने जमर्को गरिरहेकामा प्रशंसा गरे ।
आचार्यले गैर आवासीय नेपाली नागरिकता लिएर पनि उपयोग गर्न नसकिएको जनाउंदै संविधानले दिएको अधिकारसहित उक्त नागरिकता व्यवहारिक जीवनमा समेत छिट्टै कार्यान्वयनमा ल्याउन पहल भइरहेको जानकारी दिए ।
सोसाइटी अध्यक्ष अप्सरा गुरुङले सहयोगदाता र सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै समाज विकासको मेरुदण्ड शिक्षा रहेपनि अल्पसंख्यक अनाथ बालबालिका अझै पनि शिक्षाबाट वन्चित रहेकाले जिल्लाका विपन्न विधार्थीहरुलाई सहयोग गर्न च्यारिटी गरिएको बताइन्।
उनले दुई दुर्गम नगरपालिका बिहादी र मोदीका १९४ बालबालिकालाई सहयोग अति जरुरी रहेको पहिचान गरिएको बताउंदै संकलित रकम सम्बन्धित वर्गमा छिट्टै पुर्याइने पनि अठोट गरिन् ।
अध्यक्ष गुरुङले जनही विधार्थीलाई ४००० रुपैंया बराबरको स्टेशनरी सामग्री र पोशाक दिइने योजना रहेको पनि जनाइन् ।
अन्तराष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरीले २२ वर्षअघि स्थापित संस्थामा आफूले ६ वर्ष नेतृत्व गरेको र यो अहिले परिपक्व भएर धेरै उदाहरणीय कार्य गरेको बताए । जुन उद्देश्यले संस्था जन्माइएको थियो, सोही अनुरुप काम हुंदा आफूलाई गर्व लागेको गिरीको भनाइ थियो । उनले आफनो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयां दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।
एनआरएनए यूके अध्यक्ष तथा सोसाइटीका संस्थापक अध्यक्ष हितकाजी गुरुङले देशबाट जति टाढा भयो, आफ्नो गाउंको माया झन् बढी लाग्ने भएकाले बेलायत आएका पर्वतेहरुलाई संगठित गरि गाउंको विकासमा सहयोग गर्ने उद्देश्यले संस्था गठन भएको स्मरण गरे ।
पूर्व अध्यक्ष एवं अन्तराष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष दधी आचार्यले गरिव तथा जेहेन्दार विद्यार्थीको सहयोगार्थ समाजका तर्फबाट ७५ हजार १११ रुपैयां सहयोग गर्ने निर्णय भएको घोषणा गरे । आचार्यले केन्द्रिय अध्यक्ष गुणराज शर्मा गुरांसको शुभकामना सन्देश पनि पढेर सुनाएका थिए ।
महासचिव सन्जय भण्डारीले सन्चालन गरेको उक्त कार्यक्रममा तमुधिं यूके अध्यक्ष हरि गुरुङ, सल्लाहकारहरु ले. रि. चन्द्र बहादुर गुरुङ, डा. जगन्नाथ शर्मा लगायतले सोसाइटीको च्यारिटी उद्देश्यको प्रशंसा गर्दै महान कार्यका लागि शुभकामना दिएका थिए।
स्वागत मन्तव्यका क्रममा सोसाइटीका वरिष्ठ उपाध्यक्ष सुरज पौडेलले पर्वतका विभिन्न गाउंपालिकाका विद्यालयलाई सम्पर्क गरि त्यहांस्थित जेहेन्दार र न्यून आय भएका करिब ४ सय विद्यार्थीको विवरण संकलन गरिएको र तिनलाई कापी कलम, पोशाक लगायत सामग्री प्रदान गर्ने लक्ष्य राखिएको जनाए ।
संस्थाका कोषाध्यक्ष भिमलाल भट्टराईले च्यारिटी डिनरबाट हालसम्म करिव १३ हजार पाउन्ड संकलन भएको र यो क्रम जारी रहेको जनाए ।
सांस्कृतिक कार्यक्रमका सिलसिलामा नेपालका राष्ट्रिय कलाकारहरु रेनुका भट्टराई, कला लम्साल, ललिता पुन मगर, राजन गुरुङ लगायतले गायन प्रस्तुत गरेका थिए ।
नेपालबाटै आएकी डान्सर अस्मिता रानासहित कृतिका आचार्य र स्थानीय कलाकारले विभिन्न आकर्षक नृत्य देखाए भने ढाकाकुमारी भट्टराईले मातृभूमि झल्काउने कविता वाचन गरिन् ।