बिहीबार, १२ फ्रेब्रवरी, २०२६
21:02 | ०२:४७

त्रिपक्षीय वार्तामा जाने ६ जना भूतपूर्व गोर्खाको नाममा सहमति

नेपाली लिङ्क मार्च २५, २०२४

फाइल तस्विर

लन्डन- भूतपूर्व गोर्खा मुद्दामा बेलायत र नेपाल सरकार (जीटुजी) तथा गोर्खा प्रतिनिधिबीच हुन लागेको त्रिपक्षीय वार्तामा जाने ६ जना गोर्खाको नाम टुंगो लागेको छ । 

वार्तामा गोर्खाहरुको प्रतिनिधित्व गर्दै आएका मेजर जुदबहादुर गुरुङले २७ मार्च एमओडीमा हुन लागेको मन्त्रिस्तरिय वार्तामा सहभागी हुन ६ जनाको नाममा सहमति बनेको नेपालीलिंकलाई जानकारी दिए।  

वार्तामा जान मेजर जुदबहादुर गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ, नेसा अध्यक्ष केशबहादुर गुरुङ, बिजिडब्लुएस् अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवान र अनसनकर्ता ज्ञानराज राईको नाममा सहमति बनेको हो। 

गेसो सभापति कृष्णकुमार राईले लचकता अपनाउँदै नेसा अध्यक्ष गुरुङलाई छोडेपछि अन्तिम नाम टुंगो लागेको धर्म तामाङले बताए । ‘वार्ता सफलता मुख्य प्राथमिकता हो । हामी यसमा वाधक बन्नु हुँदैन भनेर सभापतिज्यूले लचकता अपनाउनु भयो’- उनले भने ।  

बेलायती रक्षा मन्त्रालय (एमओडी) मा हुन लागेको वार्तामा नेपाल सरकारका तर्फबाट गोर्खा वार्तामा संयोजकको जिम्मेवारी पाएका राजदूत ज्ञानचन्द्र आचार्य, परराष्ट्र मन्त्रालय अन्तर्गत युरोप अमेरिका महाशाखा प्रमुख सहसचिव गणेश ढकाल, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी हुनेछन् भने बेलायती पक्षबाट भेट्रान एण्ड पिपुल मिनिष्टर डा. एन्ड्रयू मरिसन सहभागी हुंदैछन् ।

वार्ता दिउंसो २ देखि साढे तीन बजेसम्म तय छ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू