शनिबार, जेठ ४, २०८२
22:04 | ०२:४९

गोर्खा वार्ता फेब्रुअरी २१ मा तय, ‘निर्णायक’ मार्च २७ मा

मार्च २७ मा मन्त्रीस्तरीय वार्ता तयारी

नेपाली लिङ्क फ्रेब्रवरी ६, २०२४

फाइल तस्विर: त्रिपक्षीय वार्ताका सहभागी

लन्डन- भूतपूर्व गोर्खाका मुद्धामा अर्को चरणको त्रिपक्षीय वार्ता यही फेब्रुअरी २१ मा हुने भएको छ।

फेब्रुअरी २१ बुधबार र मार्च २७ तारिखमा दुई चरणका वार्ता हुने तय भइसकेको लन्डनस्थित नेपाली दूतावासले पुष्टि गरेको छ। 

दूतावासकी उपनियोग प्रमुख रोशन खनालका अनुसार अब हुने पहिलो वार्ता वर्किङ कमिटी स्तरको हुनेछ जसमा बेलायतबाट विदेश मन्त्रालयका अधिकारी र नेपालको तर्फबाट दूतावासका अधिकारी सहभागी हुनेछन्।  

मार्च २७ को वार्ता भने मन्त्रीस्तरमा हुने भएको छ। उक्त वार्तामा बेलायती पक्षबाट मन्त्रीको सहभागिता पक्का भइसकेको छ। निर्णायक तहको वार्ता मन्त्रीस्तरमै हुनुपर्ने भन्दै गोर्खाहरुले नेपाल सरकारबाट पनि मन्त्री नै सहभागी हुनुपर्ने माग गरेका छन्।

वार्ताको तयारीबीच भूतपूर्व गोर्खाहरुले भने अब आन्दोलनको रणनीति समेत बुन्न शुरु गरेका छन्।

संयुक्त गोर्खा सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले मार्च २७ मा पनि वार्ता सफल नभए आफूहरु कठोर र निर्णायक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

विगतमा आशा देखाउने र झुक्याउने कार्य भएको भन्दै उनले वार्ताकै नाममा अझै पनि भुलाउन खोजे मान्य नहुने स्पष्ट पारे।   

भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) ले पनि गत महिना नै ६ महिनाभित्र माग पूरा नगरिए आन्दोलन शुरु गर्ने ‘अल्टिमेटम’ दिइसकेको छ।

दूतावासकी उपनियोग प्रमुख खनाल भने वार्ता जारी रहेकाले सफल निष्कर्षको आशा राख्न सकिने बताउंछिन्।  

‘समस्याको अन्तिम समाधान आउने वार्ताबाटै हो, अरु विकल्प हुंदैन । त्यसैले, ढोका सधैं खुला राखेरै छलफल गर्दै जानुपर्छ । त्यो ढोका नै बन्द गरेर त समाधान खोज्न सकिंदैन’- उनले भनिन् । 

गोर्खाहरुको मागमा बेलायत, नेपाल र पूर्व गोर्खासमेतको सहभागितामा यसअघि थुप्रै चरणमा त्रिपक्षीय वार्ता गरिसकिएको छ। तर समान पेन्सनसहितका प्रमुख माग पूरा गर्न  बेलायत तयार नभइसकेका कारण वार्ताको निष्कर्ष अहिलेसम्म पनि अनिश्चित छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू