मंगलबार, वैशाख १८, २०८१
02:01 | ०६:४६

एनआरएनए यूकेको कोरोना कोषमा तमुधिं यूकेको १४ सय १ पाउण्ड सहयोग

नेपाली लिङ्क जुन ६, २०२०

लण्डन । तमुधिं यूकेले एनआरएनए यूकेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ ।

बेलायतमा कोरोनाबाट प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए यूकेले सञ्चालन गरेको सहयोग अभियानमा तमुधिं यूकेले १४ सय १ पाउण्ड प्रदान गरेको हो ।

सहयोग वापतको  चेक शनिबार तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङलाई हस्तान्तरण गरे । मिचेटस्थित तमुधिं भवनमा एनआरएनए यूके र तमुधिं यूकेका पदाधिकारीहरुको उपस्थितिमा चेक हस्तान्तरण भएको थियो ।

चेक ग्रहण गर्दै एनआरएनए यूकेकी अध्यक्ष गुरुङले सहयोगका लागि तमुधिं यूकेप्रति आभार प्रकट गरिन् ।

एनआरएनए यूकेले कोरोना महामारीका बेला विभिन्न समस्यामा परेका नेपालीहरुको सहयोगका लागि सक्दो कोशिस गरिरहेको उनले बताइन् । बेलायतस्थित अन्य नेपाली संघसंस्था समेतले एनआरएनएको सहयोग अभियानमा ऐक्यबद्धतासहित साथ दिंदै आएको अध्यक्ष गुरुङले सुनाइन् ।

तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले पनि एनआरएनए यूकेको सहयोग अफ्ठेरोमै परेका वास्तविक पीडितहरुसम्म पुगोस् भन्ने आफूहरुको चाहना रहेको बताए ।

महामारीका बेला एनआरएनए यूकेले चलाएको सहयोग अभियान प्रशंसनीय छ भन्दै उनले यसबाट धेरै नेपाली लाभान्वित हुने आशा व्यक्त गरे ।

त्यसअवसरमा एनआरएनए यूकेका उपाध्यक्ष सुनिलबाबु खड्का, कोषाध्यक्ष तेजेन्द्र रोका र कार्यसमिति सदस्यद्धय हेम गुरुङ र धन सार्कीका साथै तमुधिं यूकेका तर्फबाट वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ र उपाध्यक्ष  जुमकाजी गुरुङ, महासचिव तुलाराम गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र सुर्जे गुरुङ लगायतको उपस्थिति थियो ।

एनआरएनए यूकेको कोरोना राहत कोषमा हालसम्म २२ हजार पाउण्डभन्दा बढी रकमको सहयोग प्रतिवद्धता आएको छ । बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाले समेत कोषमा आर्थिक योगदान गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू