मंगलबार, वैशाख १८, २०८१
06:08 | १०:५३

पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइँदै

रासस अक्टोबर १९, २०२१

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १४९६ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मुस्लिम समुदायको सन्देष्टाका रुपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि उनी साउदी अरबको मदिना गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी संवत् १४४३ चलिरहेको छ । हरेक वर्ष हिजरी संवत् १० दिन पर सर्ने गरेको मुस्लिम आयोगका पूर्व अध्यक्ष निर्दोष अलीले बताए ।

जगतको सृष्टिदेखि नै पवित्रस्थलमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थिए । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरु धर्मावलम्बी कम भए । अनि इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थलका रुपमा मान्न थालियो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् ।

इस्लाम धर्ममा महत्वपूर्ण योगदान गरेकाले आज उनको उपदेशलाई सम्झने कार्यक्रम छ । यस अवसरमा आज रयाली, सभालगायत कार्यक्रम गरिने जनाइएको छ । नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा आज कार्यक्रम गरिँदै छ ।

कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर कार्यक्रम गरिने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू